काठमाडौं । सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) लाई निलम्बन गरेको छ ।
गृह मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम अर्को निर्णय नभएसम्मका लागि एन–प्याब्सनलाई निलम्बन गरेको हो ।
मन्त्रालयका अनुसार संस्थाले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम दिइएको निर्देशन बारम्बार पालना नगरेको तथा संगठनका पदाधिकारीहरूले सरकारबाट स्वीकृत विधान र संस्थाको मूल उद्देश्यविपरीतका कार्य गरेको पाइएको छ ।
यस विषयमा मन्त्रालयले गत असोज २३ गते सम्बन्धित सरोकारवालासँग छलफल गरी ऐन तथा मन्त्रालयले आज मंसिर १२ गते जारी गरेको निर्देशनअनुसार काम गर्न आग्रह गरेको थियो । तर, उक्त निर्देशनअनुसार कार्य नभएको भन्दै मन्त्रालयले संस्थालाई निलम्बन गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
गृह मन्त्रालयले निलम्बनसम्बन्धी सार्वजनिक सूचना जारी गर्दै अब संस्थाका नाममा कुनै पनि समूह वा गुटबाट गतिविधि सञ्चालन गरिए गैरकानुनी हुने स्पष्ट पारेको छ । त्यस्ता गतिविधिमा संलग्न हुनेलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले जानकारी दिएकाे छ ।









प्रतिक्रिया दिनुहोस्