काठमाडौं । मालपोत कार्यालयका तत्कालीन नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध ९ करोड ७२ लाख रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले आचार्यसँगै उनकी श्रीमती, छोरी तथा अन्य व्यक्तिहरूलाई समेत प्रतिवादी कायम गर्दै बिगो, कैद, जरिवाना र गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्न मागदाबी लिएको हो ।
आचार्यले खोटाङमा गाविस सचिवका रूपमा २०५४ माघ २ गतेदेखि सरकारी सेवामा प्रवेश गरेको र २०८० मंसिर २१ गतेसम्मको अवधिलाई अनुसन्धानको जाँच अवधि कायम गरिएको अख्तियारले जनाएको छ ।
अनुसन्धानका क्रममा आचार्य र उनकी श्रीमतीको पारिश्रमिक तथा बचत, घरजग्गा बिक्रीबाट प्राप्त रकम, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण, बैना रकम फिर्ता, कृषि आय र ब्याज आम्दानीसमेत गरी कुल ६ करोड २५ लाख ६३ हजार ३४५ रुपैयाँ ४८ पैसा वैधानिक आय रहेको देखिएको आयोगको दाबी छ ।
तर, सोही अवधिमा जग्गा तथा घरजग्गा खरिद, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर भुक्तानी, हलेसी डिपार्टमेन्ट स्टोर प्रालिमा लगानी, जग्गा खरिदका लागि बैना भुक्तानी, विभिन्न व्यक्तिलाई ऋण सापटी, सवारीसाधन खरिद, अध्ययन खर्च, सेयर खरिद, बैंक तथा वित्तीय संस्थाको ऋण भुक्तानीलगायतमा १५ करोड ९८ लाख ३५ हजार ३३५ रुपैयाँ ३१ पैसा खर्च तथा लगानी गरेको पाइएको अख्तियारले जनाएको छ ।
कुल वैधानिक आयबाट कुल खर्च तथा लगानी घटाउँदा ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ ८३ पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको आयोगको निष्कर्ष छ ।
आचार्यले अन्य प्रतिवादीहरूसँगको मिलेमतोमा गैरकानुनी रूपमा सम्पत्ति आर्जन तथा त्यसलाई विभिन्न कारोबारमार्फत लुकाउने र स्थानान्तरण गर्ने कार्य गरेको अभियोग लगाइएको छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद तथा जरिवानासहित गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्न मागदाबी गरेको छ ।
आचार्यकी श्रीमती ललिता राजभण्डारीलाई समेत ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ ८३ पैसा नै बिगो कायम गरी प्रतिवादी बनाइएको छ । आयोगले उनलाई गैरकानुनी सम्पत्ति आर्जनमा मतियारको भूमिका निर्वाह गरेको आरोप लगाएको छ ।
त्यस्तै, आचार्यका छोरी निलु आचार्य र सरू आचार्यलाई गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ ।
यसैगरी, भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–२ निवासी प्रभा बस्नेत र काठमाडौं महानगरपालिका–३२, पेप्सीकोला निवासी कुमारी कटुवाललाई पनि प्रतिवादी बनाइएको छ । उनीहरूविरुद्ध ३८ लाख ८६ हजार १८२ रुपैयाँ ८ पैसा बिगो कायम गरी सजाय तथा सम्पत्ति जफतको मागदाबी गरिएको छ ।
अख्तियारले आचार्य र उनकी श्रीमती राजभण्डारीविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा समेत छुट्टै बिगो कायम गरी सजायको मागदाबी गरेको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आचार्य र राजभण्डारीबाट ९ करोड १९ लाख ८४ हजार ५७६ रुपैयाँ १९ पैसा बिगो असुल गर्न माग गरिएको छ ।
यसैगरी, प्रभा बस्नेत र कुमारी कटुवालविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा ३८ लाख ८६ हजार १८२ रुपैयाँ ८ पैसा बिगो कायम गरी सजाय तथा सम्पत्ति जफतको मागदाबी गरिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार घरजग्गा कारोबार, विभिन्न व्यक्तिसँगको आर्थिक लेनदेन, कम्पनी तथा सेयरमा गरिएको लगानी र जग्गा खरिदबिक्रीका क्रममा विभिन्न तहमा रकम स्थानान्तरण गरी सम्पत्ति शुद्धीकरण गरिएको पाइएको छ ।
आरोपपत्र दायर भएसँगै अब प्रतिवादीहरूविरुद्धका आरोपको न्यायिक निरूपण विशेष अदालतबाट हुनेछ ।









प्रतिक्रिया दिनुहोस्