Skip to content

अनलाइन ठगी बढेपछि राष्ट्र बैंकको कडाइ, बैंक तथा वालेटलाई २४ घण्टे सम्पर्क अधिकारी राख्न निर्देशन

nabil
global ime

काठमाडौं । डिजिटल माध्यमबाट हुने वित्तीय अपराध नियन्त्रण तथा त्यस्ता घटनामा तत्काल प्रतिक्रिया जनाउने उद्देश्यले नेपाल राष्ट्र बैंकले बैंक तथा भुक्तानी सेवा प्रदायकहरूलाई २४सै घण्टा सम्पर्कमा रहने अधिकारी तोक्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सूचना जारी गर्दै विकास बैंक, वित्त कम्पनी, भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकलाई साइबर ठगीसम्बन्धी घटनामा समन्वय गर्न सम्पर्क अधिकृत नियुक्त गर्न भनेको हो ।

सरकारको गृह मन्त्रालयबाट स्वीकृत ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रको स्थापना र कार्य सञ्चालन सम्बन्धी दिग्दर्शन’ कार्यान्वयनका क्रममा यस्तो व्यवस्था गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । यसका लागि नेपाल प्रहरीको साइबर ब्युरोसँग आवश्यक समन्वय र सहकार्य गरिनेछ ।

केन्द्रमा वाणिज्य बैंक, ई–सेवा र खल्ती प्रत्यक्ष रूपमा समन्वयमा रहने व्यवस्था रहेकाले अन्य विकास बैंक, फाइनान्स कम्पनी तथा भुक्तानी सेवा प्रदायकलाई सम्पर्क अधिकारी तोक्न भनिएको हो ।

निर्देशनअनुसार सम्बन्धित संस्थाले तोकिएका अधिकारीको नाम, थर, सम्पर्क नम्बर र कार्यालयको इमेल ठेगाना राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागमा तत्काल उपलब्ध गराउनुपर्नेछ । ती अधिकारी साइबर अपराध अनुसन्धान तथा आकस्मिक प्रतिकार्यका लागि जुनसुकै समयमा सम्पर्क गर्न सकिने गरी उपलब्ध हुनुपर्नेछ ।

डिजिटल कारोबारको दायरा बढेसँगै अनलाइन ठगी, बैंक खाता ह्याकिङ र अवैध रूपमा रकम स्थानान्तरण हुने घटनासमेत चुनौतीका रूपमा देखिएका छन् । यस्ता घटनामा प्रहरी र वित्तीय संस्थाबीच सूचना आदानप्रदान तथा समन्वय छिटो बनाउन यो व्यवस्था ल्याइएको हो ।

यसबाट शंकास्पद कारोबार तत्काल पहिचान गर्न, ठगीमा प्रयोग भएका खाताको रकम रोक्का गर्न तथा पीडितको रकम फिर्ता गर्ने प्रक्रियामा सहजीकरण हुने अपेक्षा गरिएको छ ।

Integrated-Anti-Cyber-Scam-Center-related-Notice-1

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T