काठमाडौं । जिल्ला प्रशासन कार्यालय कास्कीले तिहारको अवसरमा खेलिने देउसी–भैलो कार्यक्रमलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन सर्वसाधारण तथा आयोजकलाई आग्रह गरेको छ ।
कार्यालयले सूचना जारी गर्दै देउसी–भैलो कार्यक्रम राति १० बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिएको हो । नेपाली मौलिक संस्कृति, परम्परा, सामाजिक सद्भाव र आपसी भाइचारालाई संरक्षण गर्दै तिहारलाई सभ्य, शान्तिपूर्ण र उल्लासमय बनाउन यस्तो आग्रह गरिएको प्रशासनले जनाएको छ ।
सूचनाअनुसार देउसी–भैलो खेल्ने क्रममा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने तथा सार्वजनिक शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि गर्न पाइने छैन । त्यसैगरी ध्वनि प्रदूषण हुने गरी डिजे, ठूलो आवाजका माइक, लाउडस्पिकर तथा अन्य ध्वनि उपकरण प्रयोग नगर्न पनि प्रशासनले सचेत गराएको छ ।
अस्पताल, स्वास्थ्य संस्था, विद्यालय, वृद्धाश्रमलगायत संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउन र घर, कार्यालय तथा व्यापारिक प्रतिष्ठानमा देउसी–भैलो खेल्न जाँदा सम्बन्धित घरधनी वा सञ्चालकको पूर्वस्वीकृति लिनुपर्ने सूचनामा उल्लेख छ । अनुमति नलिई जबरजस्ती देउसी–भैलो खेल्ने वा चन्दा तथा दक्षिणा माग्ने कार्य नगर्न पनि आग्रह गरिएको छ ।
प्रशासनले भुइँचम्पा, आतिसबाजी, रकेट, पटाकालगायत विस्फोटक पदार्थको प्रयोग, ओसारपसार, बिक्री वितरण तथा भण्डारण नगर्न निर्देशन दिएको छ । सडक, चोक, गल्ली, फुटपाथ तथा सार्वजनिक स्थानमा सवारी आवागमन र पैदलयात्रीलाई अवरोध पुग्ने गरी कार्यक्रम सञ्चालन गर्नसमेत रोक लगाइएको छ ।
देउसी–भैलोका नाममा सर्वसाधारण, व्यवसायी, घरधनी तथा यात्रुलाई जबरजस्ती रकम माग्ने, दबाब दिने, धम्क्याउने वा अभद्र व्यवहार गर्न नपाइने प्रशासनको भनाइ छ । बालबालिकालाई कार्यक्रममा सहभागी गराउँदा अभिभावकको निगरानीमा राख्न तथा उनीहरूको सुरक्षामा विशेष ध्यान दिन पनि आग्रह गरिएको छ ।
त्यस्तै सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्याउने, फोहोरमैला गर्ने, जातजाति, धर्म, भाषा, संस्कृति वा समुदायप्रति घृणा र द्वेष फैलाउने गीत, नारा तथा गतिविधि नगर्न सूचनामार्फत सचेत गराइएको छ ।
देउसी–भैलो कार्यक्रम सञ्चालन गर्ने समूह, क्लब तथा संघसंस्थालाई आवश्यकताअनुसार स्थानीय तह र नेपाल प्रहरीसँग समन्वय गर्न प्रशासनले आग्रह गरेको छ । कुनै विवाद, आगलागी वा शंकास्पद गतिविधि भएमा तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नसमेत अनुरोध गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले सूचनाविपरीत कार्य गरी प्रचलित कानुन उल्लङ्घन गरेमा तथा सार्वजनिक शान्ति सुरक्षा, सामाजिक सद्भाव, सम्पत्ति र आवागमनमा बाधा पुर्याएमा कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी रमेश घर्तीले कात्तिक २० गते जारी गरेको सूचनामा सबै नागरिक, देउसी–भैलो समूह, क्लब, संघसंस्था, आयोजक तथा घरधनीलाई नियम पालना गर्न आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्