काठमाडौं । ओखलढुङ्गाको लिखु गाउँपालिका–९ पोकलीमा सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना गरेको आरोपमा तत्कालीन वडाध्यक्षसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले तत्कालीन वडाध्यक्ष शुक्रविर तामाङ, तीनजना तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र एकजना एमआईएस अपरेटरविरुद्ध आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार आर्थिक वर्ष २०७५–७६ र २०७६–७७ मा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा मृत्यु भइसकेका, बसाइँसराइ गरेका तथा दोहोरो नाम समावेश भएका व्यक्तिका नाममा समेत रकम भुक्तानी भएको देखाएर अनियमितता गरिएको पाइएको छ।
अनुसन्धानका क्रममा तत्कालीन वडाध्यक्ष तामाङले आफ्नै दायाँ हातको बुढीऔँलाको छाप ३६० पटक प्रयोग गरी विभिन्न लाभग्राहीका नाममा सामाजिक सुरक्षा भत्ताबापत २९ लाख १५ हजार २०० रुपैयाँ भुक्तानी लिएको तथा लिन लगाएको खुलेको आयोगले जनाएको छ।
त्यसैगरी, दोहोरो नाम समावेश गर्ने, मृत्यु भएका लाभग्राहीको लगत कट्टा नगर्ने र अन्यत्र बसाइँसराइ गरिसकेका व्यक्तिको नाममा समेत भत्ता वितरण भएको देखाएर थप २ लाख ५२ हजार रुपैयाँ अनियमितता गरिएको पाइएको छ।
यसरी गलत विवरणसहितका अभिलेख तयार गरी पेश्की फर्छ्यौट गराएको भन्दै आयोगले कुल ३१ लाख ६७ हजार २०० रुपैयाँ सरकारी रकम हिनामिना भएको ठहर गरेको छ।
यस प्रकरणमा तत्कालीन वडाध्यक्ष शुक्रविर तामाङ र एमआईएस अपरेटर खिला विकविरुद्ध जनही कुल बिगो ३१ लाख ६७ हजार २०० रुपैयाँ कायम गरिएको छ।
त्यस्तै, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीविरुद्ध ९ लाख ५३ हजार ६०० रुपैयाँ, अभयकुमार गुप्ताविरुद्ध ११ लाख ६७ हजार २०० रुपैयाँ र निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनानाथ चौधरीविरुद्ध ७ लाख ९४ हजार ४०० रुपैयाँ बिगो कायम गरिएको छ।
आयोगले प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को सम्बन्धित दफाअनुसार कैद, बिगोबमोजिम जरिवाना तथा हिनामिना भएको रकम असुलउपर गर्न मागदाबी गरेको छ। सरकारी अभिलेखमा गलत विवरण राख्ने तथा कागजात सच्याउने र हेरफेर गर्ने कसुरमा थप सजायको मागसमेत गरिएको छ।
आयोगका अनुसार पाँचै जनाले आपसी सहमति र मिलेमतोमा पद तथा जिम्मेवारीको दुरुपयोग गरी सरकारी रकम हिनामिना गरेको आरोप छ। मुद्दाको अन्तिम फैसला भने विशेष अदालतबाट हुन बाँकी छ।










प्रतिक्रिया दिनुहोस्