Skip to content

प्रेम सम्बन्धको विवादले एनभिडियालाई संकट, जेनसन हुआङमो मायाले ४३० अर्ब डलर गुम्यो

nabil
global ime

प्रमुख कार्यकारीको व्यक्तिगत सम्बन्धले विश्वकै मूल्यवान प्रविधि कम्पनीमध्ये एक एनभिडियाको नेतृत्व, संस्थागत सुशासन र अमेरिकी राष्ट्रिय सुरक्षामाथि प्रश्न उठाएको छ। दुई कारोबार दिनमै कम्पनीको बजार पुँजीकरणबाट करिब ४३० अर्ब अमेरिकी डलर घटेको छ।

काठमाडौं । विश्वकै अग्रणी कृत्रिम बौद्धिकता (एआई) चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेनसन हुआङ व्यक्तिगत सम्बन्ध र सम्भावित चिनियाँ जासुसी प्रकरणका कारण विवादमा तानिएका छन्। उनको एक चिनियाँ व्यवसायीसँगको सम्बन्ध सार्वजनिक भएपछि कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने नेतृत्वको निरन्तरतामाथि समेत प्रश्न उठ्न थालेको छ।

हुआङले आफ्नी श्रीमतीप्रति बेइमान भएको स्वीकार गर्दै कम्पनीका कर्मचारीसमक्ष माफी मागेका छन्। तर उनीसँग सम्बन्धमा रहेकी महिला चिनियाँ गुप्तचर निकायका लागि काम गरेको आशंका गरिएकी व्यक्ति भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

यो प्रकरण सार्वजनिक भएपछि एनभिडियाको सञ्चालक समितिले हुआङ विदेशी गुप्तचर गतिविधिको निशानामा परेका हुन् वा होइनन् भन्ने विषयमा स्वतन्त्र अनुसन्धान अघि बढाएको छ। कम्पनीले भने हुआङले निरन्तर प्रमुख कार्यकारीकै रूपमा काम गर्ने जनाएको छ।

हुआङसँग जोडिएको विवादले एनभिडियाको सेयर बजारमा समेत दबाब सिर्जना गरेको छ। रोयटर्सका अनुसार दुई कारोबार दिनमा कम्पनीको बजार पुँजीकरण करिब ४३० अर्ब अमेरिकी डलरले घटेको छ।

सोमबारको कारोबारमा कम्पनीको सेयर ५ प्रतिशतभन्दा बढी घटेको थियो। यसअघि नै एआई क्षेत्रमा लगानीको दिगोपन र अत्यधिक मूल्याङ्कनबारे लगानीकर्ताको चिन्ता बढिरहेका बेला नयाँ विवाद थपिएको हो।

कारोबारका क्रममा एनभिडिया विश्वकै दोस्रो मूल्यवान कम्पनीबाट तेस्रो स्थानमा झरेको थियो। माइक्रोसफ्टले केही समयका लागि उसको स्थान लिएको थियो। यद्यपि कारोबार बन्द हुँदा एनभिडिया पुनः दोस्रो स्थानमा फर्किएको थियो।

यो प्रकरणले एनभिडियाको संस्थागत संरचनामाथि पनि बहस सुरु गरेको छ। हुआङ कम्पनीका संस्थापक मात्र होइनन्, एआई उद्योगको विश्वव्यापी विस्तारमा सबैभन्दा प्रभावशाली नेतृत्वकर्तामध्ये एक हुन्।

कम्पनीको सञ्चालन शैलीसमेत हुआङ केन्द्रित रहेको मानिन्छ। उनको नेतृत्वमा ठूलो संख्यामा उच्च तहका अधिकारीले प्रत्यक्ष काम गर्छन्। तर उनीपछि कम्पनीको नेतृत्व कसले सम्हाल्न सक्छ भन्ने विषयमा स्पष्ट उत्तराधिकारीको चर्चा सार्वजनिक रूपमा देखिएको छैन।

यदि कुनै कारणले हुआङले नेतृत्व छाड्नुपर्ने अवस्था आयो भने कम्पनीले कसलाई अगाडि सार्छ भन्ने प्रश्न लगानीकर्ताका लागि महत्त्वपूर्ण बन्न सक्छ।

एनभिडियाको मूल्याङ्कन केवल उसको चिप प्रविधिमा मात्र निर्भर छैन। कम्पनीको रणनीति, एआई बजार विस्तार र हुआङको नेतृत्व क्षमताले पनि त्यसमा ठूलो भूमिका खेलेको छ।

यो प्रकरणको अर्को महत्त्वपूर्ण पक्ष अमेरिकी राष्ट्रिय सुरक्षा र चीनसँगको प्रविधि प्रतिस्पर्धा हो।

अमेरिकी गुप्तचर निकायले हुआङसँग सम्बन्धमा रहेकी एलिस हुआङ नामकी व्यवसायीले बेइजिङलाई सूचना उपलब्ध गराएको निष्कर्ष निकालेको भन्ने विवरण सार्वजनिक भएका छन्। उनी सिंगापुरस्थित डाटा सेन्टर कम्पनी मेगास्पिड इन्टरनेसनलसँग आबद्ध पूर्वकार्यकारी भएको बताइएको छ।

उक्त कम्पनीमाथि एनभिडियाका उन्नत चिप चीनसम्म पुर्‍याएको आरोपसमेत लागेको थियो। तर यस प्रकरणमा हुआङलाई चीनका लागि जासुसी गरेको जानकारी थियो वा थिएन र कुनै गोप्य व्यावसायिक सूचना चुहिएको थियो वा थिएन भन्ने विषय अझै अनुसन्धानकै क्रममा छ।

एनभिडियाको सञ्चालक समितिले राष्ट्रिय सुरक्षा वा कम्पनीका गोप्य सूचना प्रभावित भएको विश्वास गर्ने आधार अहिलेसम्म नरहेको जनाएको छ। चीनले पनि जासुसीसम्बन्धी आरोपलाई निराधार भन्दै अस्वीकार गरेको छ।

एनभिडियामाथिको विवाद यस्तो समयमा आएको छ, जतिबेला अमेरिकी एआई कम्पनीहरूको मूल्याङ्कन र भविष्यको आम्दानी क्षमतामाथि लगानीकर्ताले प्रश्न उठाउन थालेका छन्।

एआई क्षेत्रमा भइरहेको ठूलो लगानीले भविष्यमा अपेक्षित प्रतिफल दिन सक्छ कि सक्दैन भन्ने बहस तीव्र छ। एनभिडियाको सेयरमा आएको गिरावटलाई पनि यही व्यापक चिन्ताको सन्दर्भमा हेर्नुपर्ने हुन्छ।

हुआङको व्यक्तिगत सम्बन्धसँग जोडिएको विवादले कम्पनीको नेतृत्व र संस्थागत सुशासनमाथि थप अनिश्चितता सिर्जना गरेको छ। यसले एआई उद्योगमा लगानी गर्नेहरूको जोखिम मूल्याङ्कनलाई समेत प्रभावित पार्न सक्छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T