काठमाडौं । राजस्व चुहावट मुद्दामा ५३ करोड ८१ लाख ८३ हजार ८१ रुपैयाँ जरिवाना र २ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी गुलसन श्रीवास्तव पक्राउ परेका छन् ।
राजस्व अनुसन्धान विभागका अनुसार श्रीवास्तवलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बुधबार वीरगञ्ज महानगरपालिका–१६, नगुवाबाट पक्राउ गरेको हो ।
रौतहटको साविक जयनगर गाविस–४ (हाल गरुडा नगरपालिका–१) निवासी ३३ वर्षीय श्रीवास्तवविरुद्ध झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर (मूअकर) बिजक जारी गरी कारोबार गरेको आरोपमा राजस्व चुहावटसम्बन्धी मुद्दा दायर भएको थियो ।
उनी संग्रिला ट्रेड एण्ड सप्लायर्स, प्रिन्स इन्टरनेसनल, मयंक इन्टरप्राइजेज, शुभलक्ष्मी इन्टरनेसनल र न्यू महादेव इन्टरनेसनलका सञ्चालक (प्रोपाइटर) हुन् ।
उक्त मुद्दामा उच्च अदालत पाटनले २०८१ वैशाख २४ गते फैसला गर्दै श्रीवास्तवलाई ५३ करोड ८१ लाख ८३ हजार ८१ रुपैयाँ जरिवाना र दुई वर्ष कैद सजाय हुने ठहर गरेको थियो ।
अदालतको फैसलाअनुसारको सजाय भुक्तान नगरी फरार रहेका उनलाई पक्राउ गरेपछि फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्