काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले घनिष्ठ छिमेकी देश नेपालको आर्थिक विकाससहित समृद्धिका पक्षमा सक्दो सहयोग गर्न चीन तयार रहेको बताएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको गत महिना बेइजिङमा सम्पन्न २०औँ केन्द्रीय कमिटीको बैठक र सेन्जेनमा भएको ३३औँ एसिया प्रशान्त क्षेत्रीय आर्थिक सहयोग (एपेक) बैठकसहित समसामयिक विषयमा बिहीबार काठमाडौँस्थित आमसञ्चारमाध्यमका सम्पादकहरूसँग भएको छलफलका क्रममा राजदूत झाङले नेपाल सदैव चीनको प्राथमिकतामा रहेको बताए ।
राजदूत झाङले स्वास्थ्य, शिक्षा, सडक सञ्जाल, उद्योग, व्यापार, ऊर्जालगायतका क्षेत्रमा नेपाललाई सहयोग गर्दै आएकामा आगामी दिनमा पनि प्राथमिकतासाथ नेपाललाई सहयोग गर्ने चीनको नीति रहेको स्पष्ट गरे ।
गत भदौमा भोटेकोशी नदीमा गएको बाढीले दुवैतर्फ जनधनको अपूरणीय क्षति पुर्याएको बताउँदै विपद्को त्यस घडीमा उद्धार, राहत वितरण, पुन:स्थापना, पुनर्निर्माण तथा मानवीय सहयोगका क्षेत्रमा नेपालसँग सहकार्य गरेको उनले स्मरण गरे ।
चीन–नेपाल मित्रताको प्रतीकका रूपमा रहेको अरनिको राजमार्गस्थित तातोपानीनाका भूबनावटका दृष्टिले जोखिमपूर्ण अवस्थामा रहेको प्रसङ्ग उल्लेख गर्दै राजदूत झाङले आगामी हप्तादेखि अस्थायी रूपमा सो नाका सञ्चालन गर्ने सन्दर्भमा तयारी भइरहेको जानकारी दिए । उनले भने, “नियमित रूपमा सो नाका सञ्चालन गर्न सकिँदैन, अर्को वैकल्पिक व्यवस्था नभएसम्मका लागि हप्तामा एक–दुई दिन सञ्चालन गर्नका लागि आवश्यक तयारी भइरहेको छ ।”
उनले कोरोलानाका जोड्ने सडकखण्डको जोमसोमसम्म कालोपत्र गरी स्तरोन्नति गर्ने काम भइरहेको उल्लेख गर्दै काठमाडौँबाट नजिक पर्ने रसुवागढीनाका सञ्चालनका लागि नेपाल सरकारबाट औपचारिक प्रस्ताव प्राप्त भएपछि सोहीअनुसार प्रक्रिया अघि बढ्ने स्पष्ट गरे ।
पछिल्लो समय नेपालमा शक्तिशाली सरकारसहित राजनीतिक स्थिरता कायम भएको र भ्रष्टाचार नियन्त्रण तथा सुशासनको पक्षमा सरकार कठोर रहेकाले विकास निर्माण एवं समृद्धिका लागि अहिले नेपालमा अनुकूल वातावरण सिर्जना भएको उनले बताए ।
स्पष्ट कार्ययोजनासहित असल मनसायका साथ राम्रो काम गरी जनताको विश्वास जित्न नेपाल सरकार क्रियाशील रहेको तथा परराष्ट्र सम्बन्ध विस्तारलाई जोड दिएको राजदूत झाङको भनाइ थियो ।
चीन–नेपालबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत र प्रगाढ तुल्याउन हाम्रा सरकार, राजनीतिक पार्टी र जनताबीचको सम्बन्धलाई अझ विस्तार गर्नुपर्ने धारणा व्यक्त गर्दै राजदूत झाङले सोही सन्दर्भमा नेपालको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेतासम्मिलित संसदीय टोली, राष्ट्रसेवक कर्मचारी, पेसागत तथा नागरिक सङ्घसंस्थाका प्रतिनिधिहरू अनुभव आदानप्रदानका क्रममा अहिले चीन भ्रमणमा रहेको जानकारी दिए ।
यसैगरी, चिनियाँ कम्युनिष्ट पार्टीको गत महिना सम्पन्न केन्द्रीय कमिटीको बैठकले सात मुख्य सिद्धान्तमा आधारित भई जनतालाई केन्द्रमा राखेर पार्टीभित्र प्रजातान्त्रिक मूल्य, मान्यतालाई आत्मसात् गरेको, भ्रष्टाचार नियन्त्रण र सुशासनलाई जोड दिएको र सुदृढ तथा प्रभावकारी प्रजातान्त्रिक केन्द्रवादलाई विश्वास गरेको उनले जानकारी दिए ।
बैठकले सन्तुलित कूटनीति, कठोर अनुशासन, कुशल व्यवस्थापन, राजनीतिक प्रतिबद्धता, अथक परिश्रम, ज्ञानसहित सूचना र प्रविधिमा आधारित कार्यसम्पादनजस्ता पक्षलाई आत्मसात् गर्दै विकास र समृद्धिलाई जोड दिएको राजदूत झाङले बताए ।
त्यस्तै, संयुक्त राज्य अमेरिकाको राष्ट्रिय तथा अन्तरराष्ट्रिय भूमिका, रुस–युक्रेनबीच जारी युद्ध, इजराइल–इरानबीचको द्वन्द्वसहित त्यसले आर्थिक तथा सामाजिक क्षेत्रमा पुर्याएको असरलगायत विश्वव्यापी घटनाक्रमका बीच चीनको सेन्जेजनमा बिहीबार सम्पन्न एपेक बैठकलाई विश्वजगत्ले महत्वका साथ हेरिरहेको बताए। राजदूत झाङले विश्व शान्ति, स्थायित्व र समृद्धिका पक्षमा विशेषगरी चीन, अमेरिका र रुसका राष्ट्रपति सम्मिलित ‘एपेक’ बैठक कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्