काठमाडौं । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन शीघ्र अन्तिम रूप दिई कार्यान्वयन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँदिल्लीमा भएको उच्चस्तरीय वार्तापछि जारी संयुक्त प्रेस विज्ञप्तिमा कार्यान्वयन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको उल्लेख छ ।
सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय परियोजनाको म्एच् निर्माण कार्यलाई पनि तीव्रता दिने सहमति भएको छ ।
विकास, ऊर्जा, पूर्वाधार, रेलमार्ग, व्यापार तथा प्रविधिसहितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने घोषणा गरिएको हो ।
नेपाल–भारत ऊर्जा पूर्वाधार सहकार्यअन्तर्गत मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण नेपालका जनतालाई समर्पण गरिएको छ ।
त्यसैगरी, झापामा पेट्रोलियम टर्मिनल निर्माणका लागि भर्चुअल शिलान्यास गरिएको छ । सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइनको निर्माण शीघ्र सुरु गर्न दुवै पक्षले जोड दिएका छन् । नेपाल र भारतबीच ग्यास पाइपलाइन निर्माणमा समेत सहकार्यको सम्भावना खोजिने भएको छ ।
जलविद्युत् क्षेत्रमा सहकार्य विस्तार गर्दै नेपालमा भारतीय कम्पनीहरूको सहभागितामा निर्माण भइरहेका परियोजनालाई शीघ्र सम्पन्न गर्ने सहमति भएको छ । यसै अवसरमा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको भर्चुअल शिलान्यास गरिएको छ ।
नेपालको इनरुवा–भारतको न्यू पूर्णिया र नेपालको दोदोधारा–भारतको बरेलीबीच दुई उच्च क्षमताका सीमापार विद्युत् प्रसारण लाइन निर्माणका लागि संयुक्त उद्यम गठनसम्बन्धी प्रगतिप्रति पनि दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका छन् ।
यसैगरी नेपालको उच्च शिक्षा तथा प्रविधि क्षेत्रको विकासका लागि भारतले नेपालमा भारतीय प्रविधि संस्थानको सम्बन्धन प्राप्त क्याम्पस स्थापना गर्ने सहमति गरेको छ ।
यसबाट नेपालको शिक्षा तथा अनुसन्धान क्षेत्रमा सहयोग पुग्नुका साथै दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जनामा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
दुवै देशले स्टार्टअप, डिजिटल सेवा तथा वित्तीय सम्पर्क सञ्जालको क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । साथै, एक देशका नागरिक अर्को देशमा बसोबास गर्दा बैंकिङ तथा दूरसञ्चार सेवामा सहज पहुँच उपलब्ध गराउन सहजीकरण गर्ने सहमति भएको छ ।









प्रतिक्रिया दिनुहोस्