काठमाडौं । नेपाल र भारतबीच लामो समयदेखि पेचिलो बन्दै आएको अन्तर्राष्ट्रिय हवाई प्रवेश मार्गसम्बन्धी विषयमा महत्त्वपूर्ण सहमति जुटेको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को दुईदिने औपचारिक भारत भ्रमणका क्रममा हाल एकतर्फी सञ्चालनमा रहेको ‘बी३४५’ (काठमाडौँ–भैरहवा–लखनऊ) हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति भएको हो।
सोमबार नयाँ दिल्लीमा सम्पन्न उच्चस्तरीय वार्तापछि जारी संयुक्त प्रेस विज्ञप्तिको बुँदा नम्बर ८ मा उक्त हवाई मार्गलाई दुईतर्फी सञ्चालनमा ल्याउने विषय उल्लेख गरिएको छ।
सहमति कार्यान्वयनका लागि आवश्यक कार्यविधिलाई अन्तिम रूप दिन दुवै देशका प्राविधिक टोलीबीच परामर्श गरिने विज्ञप्तिमा जनाइएको छ। साथै, नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित अन्य प्रस्तावहरूमा पनि छलफललाई निरन्तरता दिने सहमति भएको छ।
हालसम्म बी३४५ हवाई मार्ग नेपालबाट बाहिरिने उडानका लागि मात्रै प्रयोग हुँदै आएको थियो। अब यसलाई दुईतर्फी बनाउने सहमति कार्यान्वयनमा आएपछि भारतको लखनऊतर्फबाट भैरहवा हुँदै नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय उडानका लागि पनि सहजता थपिने अपेक्षा गरिएको छ।
नेपालले सन् २००९ देखि नै भैरहवा र पोखरामा निर्माण भएका अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्न भारतसँग थप हवाई प्रवेश मार्गको माग गर्दै आएको थियो। तर, राजनीतिक तथा प्राविधिक कारणले एक दशकभन्दा लामो समयसम्म यस विषयमा ठोस सहमति जुट्न सकेको थिएन।
पश्चिम नेपाल हुँदै आउने अन्तर्राष्ट्रिय उडानहरू सिमरा प्रवेश मार्गमा निर्भर रहनुपर्ने अवस्थाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक सञ्चालनमा चुनौती थपेको थियो।
अब भैरहवा–लखनऊ हवाई मार्ग दुईतर्फी सञ्चालनमा आएमा पश्चिमतर्फबाट नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय जहाजलाई थप विकल्प उपलब्ध हुनेछ। यसबाट उडान दूरी, समय र इन्धन खर्च घट्न सक्ने तथा भैरहवा विमानस्थलको व्यावसायिक सम्भावना बढ्ने अपेक्षा गरिएको छ।
यद्यपि, सहमतिलाई व्यवहारमा कार्यान्वयन गर्न प्राविधिक प्रक्रिया र आवश्यक उड्डयनसम्बन्धी व्यवस्थाहरू पूरा हुन बाँकी छन् । यस सहमतिलाई कार्यान्वयन गर्न सके नेपालको हवाई यातायात, पर्यटन तथा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको विकासमा महत्त्वपूर्ण उपलब्धि हुने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस्