काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतबाट प्राप्त १८४ अर्ब रुपैयाँ बराबरको ऋण तत्काल उपयोग नगरिने बताएका छन् । उनले उक्त रकम आवश्यकता र आयोजना निर्माणको प्रगतिका आधारमा उपयोग गरिने ‘लाइन अफ क्रेडिट’ भएको बताएका हुन् ।
मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा भारत भ्रमणका क्रममा भएका सहमति तथा सम्झौताबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् ।
उनका अनुसार नेपालले भारतबाट ५६ अर्ब रुपैयाँ अनुदान र १८४ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सुविधा प्राप्त गरेको छ । उक्त वित्तीय स्रोतले नेपालको पूर्वाधार तथा ऊर्जा क्षेत्रको विकासमा लगानी अभाव हुन नदिने उनको भनाइ छ ।
नेपालमा करिब ४० हजार मेगावाट विद्युत् उत्पादनको सम्भावना रहेको उल्लेख गर्दै वाग्लेले त्यसका लागि आवश्यक लगानी जुटाउन भारतसँग लाइन अफ क्रेडिटको व्यवस्था गरिएको बताए । विशेषगरी प्रसारण लाइनलगायत ऊर्जा पूर्वाधार निर्माणमा उक्त ऋण प्रभावकारी रूपमा उपयोग गर्न सकिने उनले बताए ।
यसअघि डलरमा ऋण लिँदा विनिमय दरमा हुने उतारचढावका कारण नेपालको ऋण दायित्व बढ्ने गरेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले भारतीय रुपैयाँमै ऋण लिने र भुक्तानी गर्ने विकल्प उपलब्ध हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताए ।
तर, १८४ अर्ब रुपैयाँ बराबरको ऋण कुन ब्याजदरमा उपलब्ध हुने, भुक्तानी अवधि कति रहने र ग्रेस पिरियड कति हुने भन्ने विषयमा प्राविधिक छलफल हुन बाँकी रहेको उनले जानकारी दिए । ऋण डलरमा लिने वा भारतीय रुपैयाँमा लिने भन्ने विकल्पसमेत खुला रहेको उनको भनाइ छ ।
यसअघि सडक निर्माणलगायतका आयोजनामा लाइन अफ क्रेडिट उपयोग गर्दा स्थानीय सामग्रीको प्रयोग र ठेकेदारसम्बन्धी सर्तका कारण समस्या देखिएको स्मरण गराउँदै वाग्लेले ऊर्जा क्षेत्रमा भने यसको उपयोग बढी प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
उनले आवश्यकता र आयोजनाको तयारीअनुसार मात्रै ऋण परिचालन गरिने स्पष्ट पार्दै उपलब्ध वित्तीय सुविधालाई नेपालको विकास निर्माणमा अधिकतम उपयोग गर्ने सरकारको लक्ष्य रहेको बताए ।
यसैगरी, डा.वाग्लेले अर्थमन्त्री वाग्लेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि दोहोरो हवाई रुट उपलब्ध हुनु नेपालको कूटनीतिक प्रयासको महत्त्वपूर्ण उपलब्धि भएको बताए ।
उनले सांसदहरूले सुनकोशी–सप्तकोशी आयोजनाबारे उठाएको प्रश्नमा यो नयाँ आयोजना नभई सन् २००४ देखि नै नेपाल र भारतको संयुक्त अध्ययन प्रक्रियामा रहेको आयोजना भएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्