काठमाडौं । भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म जोड्ने नयाँ रेल ‘सरयू–कमला एक्सप्रेस’ मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ।
नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीबाट संयुक्त रूपमा भर्चुअल माध्यमबाट रेल सेवाको उद्घाटन गरेका थिए । उद्घाटनपछि सोमबार दिउँसो १२ः३० बजे अयोध्याधामबाट प्रस्थान गरेको रेल मंगलबार बिहान ९ः४० बजे जनकपुरधाम पुगेको हो ।
रेल जनकपुरधाम आइपुग्दा रेल्वे स्टेसनमा सांस्कृतिक कार्यक्रम तथा परम्परागत झाँकीसहित भव्य स्वागत गरिएको थियो । रेलमा आएका यात्रु तथा भारतीय प्रतिनिधिमण्डलका सदस्यहरूलाई फूलमाला र नेपाल–भारतका झण्डा देखाएर स्वागत गरिएको थियो । उनीहरूलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र संघीय श्रममन्त्री रामजी यादवले स्वागत गरेका थिए ।
करिब ६०४ किलोमिटर दूरी पार गर्ने यो रेलले भारतको उत्तर प्रदेश र बिहार हुँदै नेपालको जनकपुरधामलाई जोड्नेछ । यात्राका क्रममा मन्कापुर, बस्ती, गोरखपुर, नरकटियागञ्ज, रक्सौल, सीतामढी, शिशो, मधुबनी र जयनगरलगायतका स्टेसनमा रोकिनेछ ।
१७ वटा डिब्बा रहेको रेलमा स्लीपर, एसी थ्री टियर, एसी थ्री टियर इकोनोमी र एसी टु टियरका सुविधा उपलब्ध छन् । यो रेल सेवा सातामा एकपटक सञ्चालन हुने व्यवस्था गरिएको छ ।
भगवान् रामको जन्मभूमि अयोध्या र माता सीताको जन्मभूमि जनकपुरधामलाई जोड्ने यस रेल सेवाले नेपाल–भारतबीचको धार्मिक, सांस्कृतिक तथा पर्यटन सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ । साथै, दुई देशबीच धार्मिक पर्यटन, यात्रु आवागमन र सांस्कृतिक आदानप्रदानलाई नयाँ गति दिने विश्वास गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्