काठमाडौं । नेपाल धितोपत्र बोर्ड र विद्युत् नियमन आयोगबीच नेपालको पूँजी बजार तथा विद्युत उत्पादन सम्बद्ध क्षेत्रको सुदृढीकरण, व्यवस्थित गर्नका लागि सहकार्य गर्न बिहीबार संयुक्त बैठक सम्पन्न भएको छ ।
पुँजी बजारमार्फत विद्युत उत्पादन सम्बन्धी परियोजनामा लगानी प्रवर्द्धन, नियामक समन्वय तथा नीतिगत सामञ्जस्यता कायम गर्ने विषयमा बैठक केन्द्रित रहेको थियो ।
दिगो वित्तीय स्रोत परिचालनका लागि पारदर्शी, हकप्रद सेयर निष्कासनमा देखिएको विकृती रोक्ने, एउटा शिर्षकका हकप्रद सेयर निष्कासन गर्ने र उद्देश्य भन्दा बाहेक लगानी गर्ने, हाइड्रोपावर कम्पनीको सार्वजनिक निष्कासनको प्रभावकारी र लगानीकर्तामैत्री संयन्त्रको आवश्यकता रहने कुरामा दुवै निकायका प्रतिनिधिहरूले एकमत जाहेर गरे ।
छलफलमा सहभागी प्रतिनिधिहरूले बजारमा विश्वास अभिवृद्धि गर्ने, लगानीका अवसर विस्तार गर्ने तथा नेपालको पुँजी बजार र विद्युत उत्पादन सम्बद्ध क्षेत्रको समग्र विकास एवम् स्थायित्वमा योगदान पुर्याउने उद्देश्यले दुवै निकायबीच निरन्तर सहकार्य, सूचना आदानप्रदान र संयुक्त पहललाई अझ प्रभावकारी रुपमा अगाडि बढाउने आयोगका अध्यक्ष डा. राम प्रसाद धितालले बताए ।
बैठकले पुँजी बजार र विद्युत् क्षेत्रबीचको सम्बन्धलाई थप संस्थागत र प्रभावकारी बनाउन दुवै निकायका प्रतिनिधि रहेको संयुक्त कार्यदल गठन गर्ने सम्बन्धमा २ घन्टा छलफल समेत गरेको छ ।
उक्त कार्यदलको उद्देश्य लगानीसम्बन्धी नीतिगत विषय, नियामकीय समन्वय तथा विद्यमान नियम कानूनमा थप परिमार्जन गर्ने सम्बन्धमा सहकार्य गरि ठोस उपायहरू पहिचान गर्ने रहनेछ ।
बैठकमा आयोगका अध्यक्ष डा. राम प्रसाद धिताल, सदस्यहरु डा. मधुसुदन अधिकारी, भगिरथि भट्टराई ज्ञवाली, बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ, कार्यकारी निर्देशकहरु विनयदेव आचार्य, मुक्तिनाथ श्रेष्ठ र रुपेश केसी तथा लगायत अन्य पदाधिकारीहरूको सहभागिता रहेको थियो ।








प्रतिक्रिया दिनुहोस्