Skip to content

म्युचुअल फण्डको बीज पूँजी घटाउने बोर्डको निर्णय, जोखिम व्यवस्थापन र स्ट्रेस टेस्ट अनिवार्य

nabil bank

काठमाडौं । धितोपत्र बोर्डले सामूहिक लगानी कोष (म्युचुअल) को बीज पूँजी दर घटाएको छ । बोर्डले सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम २९(२) बमोजिम पहिलो योजना बाहेक अन्य योजनाका हकमा योजना व्यवस्थापकले कायम गर्नुपर्ने बीज पूँजीको प्रतिशत दर निर्धारण गरेको हो।

पहिलो योजनाको कार्य सम्पादनका आधारमा अब योजना व्यवस्थापकहरूले बोर्डले तोकेको निश्चित मापदण्ड पूरा गरेमा योजनाको आकारको १० प्रतिशत वा ५ प्रतिशत मात्र बीज पूँजी राख्न सक्ने भएका छन्।

यसअघि योजना व्यवस्थापकहरूले सञ्चालन गर्ने सबै योजनामा १५ प्रतिशत बीज पूँजी अनिवार्य रूपमा कायम गर्नुपर्ने व्यवस्था थियो। नयाँ व्यवस्थाअनुसार बीज पूँजीको प्रतिशत दर योजना सञ्चालनको अनुभव, कार्य सम्पादन, गुणस्तर तथा नियम परिपालनाको अवस्था जस्ता सूचकहरूको आधारमा निर्धारण गरिएको बोर्डले जनाएको छ।

बोर्डका अनुसार यस सुविधाको उपयोगसँगै योजना व्यवस्थापकहरूको कार्य सम्पादन स्तरमा सुधार आउने, रेटिङमा वृद्धि हुने तथा नियम परिपालनाको अवस्था अझ सुदृढ हुने अपेक्षा गरिएको छ। यसबाट योजनाका इकाइधनीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बोर्डले लिएको छ। त्यसैगरी, सामूहिक लगानी कोषको आकार र बजार सहभागिता बढ्दै जाँदा पुँजी बजारमा दोस्रो बजारतर्फको माग समेत सुदृढ हुने बोर्डको विश्वास छ।

यद्यपि, कोषको आकार वृद्धि हुँदा उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै बोर्डले योजना व्यवस्थापकहरूलाई जोखिम व्यवस्थापन नीति अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ। साथै, प्रत्येक योजनाको दबाब परीक्षण (स्ट्रेस टेस्ट) गरी त्यसको प्रतिवेदन कोष सुपरिवेक्षक र योजना व्यवस्थापकको सञ्चालक समितिमा छलफल गरी धारणा तथा भावी योजनासहित बोर्डमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

बोर्डका अनुसार यस कदमबाट योजना सञ्चालनका क्रममा उत्पन्न हुन सक्ने जोखिमहरूको समयमै पहिचान हुने र आवश्यक रणनीति तय गरी लागू गर्न सहज हुनेछ। परिणामस्वरूप प्रतिकूल अवस्थामा पनि योजनालाई थप रिजिलियन्ट बनाउन सहयोग पुग्ने, लगानीकर्ताको विश्वास बढ्ने र समग्र वित्तीय प्रणालीको स्थायित्व कायम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life