भक्तपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपीडितको पुनःस्थापना र प्रभावित क्षेत्रमा पुनःनिर्माण गरी पुरानै अवस्थामा फर्काउन पूर्वाधार निर्माणलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।
भक्तपुर उद्योग वाणिज्य सङ्घद्वारा वस्तु तथा सेवा निर्यात गर्ने उद्योगी, कार्गो व्यवसायी, निर्यातकर्तालगायत सरोकार भएका निकायसँग आयोजित छलफल कार्यक्रममा उनले सङ्घ सरकार, प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रबीच समन्वय तथा सहकार्य गरेर पुनःस्थापना र पुनःनिर्माण अघि बढाउने बताए ।
बागमती प्रदेश सरकारले प्रभावित क्षेत्रमा पुगेर सुरुवाती चरणमा उद्धार कार्यसँगै खाद्यान्नलगायत राहत वितरण गरेको र अहिले पुनःस्थापना र पुनःनिर्माणमा लागिपरेको उनले बताए । राज्य एक्लैले चाहेर मात्र बाढी प्रभावित क्षेत्रमा सबै काम गर्न नसक्ने भन्दै उनले सहकार्यका लागि निजी क्षेत्रलगायत विभिन्न सङ्घ संस्थासँग छलफल गरिरहेको बताए ।
कार्यक्रमपछि जिल्लाको आधुनिक एवं व्यावसायिक कृषि, दिगो पर्यटन र निर्यातमुखी हस्तकला, औद्योगिक तथा व्यावसायिक विकास लागि सङ्घको तर्फबाट १३ बुँदे माग एवं सुझावसहितको पत्रसमेत मुख्यमन्त्री थापालाई हस्तान्तरण गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्