Skip to content

सुपर खुदी हाइड्रोपावरको आईपीओ स्थानीयले किनेन्न, आवेदन दिने समय थपियो

काठमाडौं । सुपर खुदी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओ अपेक्षित रूपमा बिक्री नभएपछि आवेदन दिने समय थप गरेको छ।

कम्पनीले पुस २२ गतेदेखि स्थानीय बासिन्दाहरूका लागि आईपीओ निष्काशन गरेको थियो। तर निर्धारित अवधिभित्र पर्याप्त आवेदन नपरेपछि अब माघ २१ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको हो।

कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको छ। जसमध्ये १५ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १५ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरिएको हो।

स्थानीयका लागि छुट्याइएको सेयरमध्ये ४० प्रतिशत अर्थात ६ लाख २० हजार कित्ता साधारण सेयर लमजुङ जिल्लाको आयोजना प्रभावित क्षेत्र मर्स्याङ्दी गाउँपालिका वडा नं. २ र ३ का स्थानीय बासिन्दाहरूलाई बाँडफाँट गरिनेछ। बाँकी ६० प्रतिशत अर्थात ९ लाख ३० हजार कित्ता साधारण सेयर मर्स्याङ्दी गाउँपालिका वडा नं. १, ४, ५, ६, ७, ८ र ९ का स्थानीय बासिन्दाहरूलाई बाँडफाँट गरिनेछ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। कम्पनीको आईपीओ निष्काशनका लागि केयर रेटिङ नेपालले केयरएनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र प्राइम कमर्सियल बैंकको बेसीशहर शाखा तथा हिमालयन बैंकको भुलभुले शाखाबाट आवेदन दिन सक्नेछन्। आवेदन फाराम प्राप्त गर्न दरखास्त शुल्क बापत २ रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T