काठमाडौं । बुक बिल्डिङ विधिबाट प्राथमिक सेयर निष्कासन गरेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सेयर सूचीकरण केही समयमा नै हुने भएको छ ।
सेयर सूचीकरणका लागि कम्पनीले आवश्यक कागजात नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पठाइसकेको छ । उक्त कागजातको अध्ययन भइरहेको र अब केही समयमा नै सूचीकृत हुने नेप्सेले जनाएको छ ।
नेप्से स्रोतका अनुसार कम्पपनीको ओपनिङ रेन्ज कति दिने भन्ने विषयमा केही छलफलको काम बाँकी रहेको छ । कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको सेयर मूल्य भन्दा कम नेटवर्थ ओपनिङ रेञ्ज आउने भएपछि त्यसमा छलफल चलिरहेको छ ।
कम्पनीको सेयरले ओपनिङ रेन्ज पाउँदा नेटवर्थको तीन गुणासम्म पाउने व्यवस्था रहेको छ । नेटवर्थको तीन गुण पायो भने कम्पनीको पहिलो कारोबारको सेयर मूल्य प्रतिकित्ता अधिकतम ७५२.४० रुपैयाँसम्म हुन्छ ।
कम्पनीले सेयर निष्कासन गर्ने बेलामा प्रकाशित गरेको विवरणपत्र अर्थात आर्थिक वर्ष आर्थिक २०८१/०८२ को असार मसान्तको प्रतिसेयर नेटवर्थ २५०.८० रुपैयाँ रहेको छ । यो प्रतिसेयर नेटवर्थ (सम्पत्तिमा पुर्नमूल्याङ्गन जगेडा र सेयर प्रिमियम बाहेकको हो । कम्पनीले प्रतिसेयर नेटवर्थ (विद्युत महसुलको दायित्व गणना गर्नु पर्दाको अवस्था)को भने उल्लेख गरेको छैन ।
कम्पनीले बुक बिल्डिङ प्रक्रियामार्फत योग्य संस्थागत लगानीकर्ताबाट प्रतिकित्ता ९१२ रुपैयाँलाई कट–अफ मूल्य निर्धारण गरेको थियो । नेपाल धितोपत्र बोर्डको बुक बिल्डिङ निर्देशिकाअनुसार सो मूल्यमा १० प्रतिशत छुट दिएर सर्वसाधारणका लागि प्रतिकित्ता ८२०.८० रुपैयाँमा आईपीओ निष्कासन गरिएको थियो ।
कुनै पनि कम्पनीको सेयर पहिलो पटक कारोबार हुँदा ओपनिङ रेन्ज कम्पनीको प्रतिसेयर नेटवर्थ लगायतका आधारमा निर्धारण गरिन्छ । तर रिलायन्स स्पिनिङ मिल्सको हकमा आईपीओ मूल्य नै सामान्य फिक्स्ड प्राइस आईपीओभन्दा धेरै उच्च भएकाले मूल्य दायरा निर्धारणमा समस्या देखिएको नेप्से स्रोतले जनाएको छ ।
कम्पनीले २०८१ असारमा सार्वजनिक गरेको प्रतिवेदनमा प्रिमियमसहितको नेटवर्थ मात्र प्रस्तुत गरेको छ। विवरणपत्रमा अघिल्ला वर्षको वित्तीय अवस्था, चालु आर्थिक वर्षको प्रक्षेपित अवस्था तथा पछिल्ला अवधिका तथ्यांक उल्लेख गरिए पनि विद्युत बकौता समायोजनपछिको नेटवर्थ भने समावेश गरिएको छैन ।
आईपीओ निष्कासनअघि कम्पनीले विवरणपत्र सार्वजनिक गर्छ । धितोपत्र बोर्डले अघिल्ला विवरणपत्र सार्वजनिक गरेको भएपनि कम्पनीले तयार पारेको पछिल्लो विवरणपत्र सार्वजनिक गरेको छैन । अहिले धितोपत्र बोर्डले सेयर निष्कासन गर्न दिएको प्रतिसेयर कित्ता मूल्य भन्दा ओपनिङ रेन्जमा कम मूल्य आउने भएपछि नेप्सेमा सूचीकरणमा ढिलाइ भएको हो ।
कम्पनीले २०८१ असारमा विवरणपत्र स्वीकृत गराई सर्वसाधारणका लागि सेयर निष्कासन प्रक्रिया अघि बढाएको जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्