Skip to content

५६ अर्ब १३ करोडको आईपीओ सेबोनको पाइपलाईनमा: सबैभन्दा धेरै हाईड्रोपावर, अन्य कम्पनीको कति ?

काठमाडौं । सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्नका लागि ७१ कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अनुमति कुरेका बसेका छन् । सेबोनको पाइपलाईमा ७१ कम्पनी ५६ अर्ब १३ करोड ६६ लाख ५४ हजार ३६१ रुपैयाँको ३९ करोड ६४ लाख ७० हजार कित्ता आईपीओ ल्याउनका लागि सेबोनको अनुमति कुरेर बसेका छन् ।
सेबोनमा पाइपलाईनमा रहेका कम्पनीहरूले आईपीओ ल्याउन निश्चित कानुनी प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था छ । सेबोनको धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी नियमावलीअनुसार कुनै पनि कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्नुअघि बोर्डमा निवेदन दर्ता गर्नुपर्छ, जसलाई सामान्यतया ‘आईपीओ पाइपलाइन’ भनिन्छ।
सेबोनको प्रक्रियाअनुसार कम्पनीले पहिलो चरणमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरी आवश्यक कागजातसहित सेबोनमा आवेदन दिनुपर्छ। आवेदनसँगै कम्पनीको प्रबन्धपत्र, नियमावली, पछिल्लो तीन वर्षको लेखापरीक्षित वित्तीय विवरण, परियोजनाको विवरण, सेयर संरचना, जोखिमसम्बन्धी विवरण र प्रस्तावित निष्कासनको विवरण पेश गर्नुपर्ने व्यवस्था छ। सेबोनको उक्त व्यवस्था पुरा गरेर ७१ कम्पनीले आईपीओ निष्कासनको लागि आवेदन दिएका हुन ।
जलविद्युत् कम्पनीको हकमा परियोजनाको प्राविधिक अवस्था, उत्पादन क्षमता, व्यावसायिक सञ्चालन मिति (सीओडी) तथा विद्युत् खरिद सम्झौता (पीपीए) सम्बन्धी विवरण पनि अनिवार्य रूपमा समावेश गर्नुपर्छ। ३४ वटा हाइड्रोपावर कम्पनीले उक्त व्यवस्था अनुसार सेबोनमा आईपीओ निष्कासन गर्नको लागि अनुमति माग गरेका हुन् ।
आईपीओको पाइपलाईमा सबैभन्दा धेरै हाइड्रो पावर कम्पनी रहेका छन् । यस क्षेत्रको ३४ कम्पनी आईपीओ निष्कासनको पर्खाइमा छन् । ३४ हाइड्रो पावर कम्पनीले १६ करोड १ लाख ७१ हजार ९०४ कित्ता सेयर निष्कासन गर्नको लागि सेबोनसंग अनुमति मागेका छन् । हाइड्रो पावर कम्पनीले १६ अर्ब ४२ करोड ४४ लाख ५५ हजार २३६ रुपैयाँ बराबरको सेयर ल्याउने तयारी गरेका हुन् ।
हाइड्रो पावर कम्पनी पछि सबैभन्दा धेरै आईपीओको पाईपलाईनमा भएका कम्पनीहरू उत्पादन तथा प्रशोधन कम्पनीहरू रहेका छन् । उत्पादन तथा प्रशोधन क्षेत्रका २३ कम्पनीले आईपीओ ल्याउनको लागि सेबोनमा आवेदन दिएका छन् । यस क्षेत्रका २३ कम्पनीले १४ करोड ३१ लाख १८ हजार ५२२ कित्ता सेयर निष्कासन गर्नको लागि बोर्डमा आवेदन दिएका हुन् । यस क्षेत्रका यी कम्पनीले २८ अर्ब ६५ करोड ७५ लाख ४१ हजार ७२५ रुपैयाँ बराबरको सेयर निष्कासन गर्नको लागि धितोपत्र बोर्डसँग अनुमति मागेका छन् । उत्पादन तथा प्रशोधन क्षेत्रको एक कम्पनीले प्रिमियम मूल्यमा सेयर निष्कासन गर्नको लागि सेबोनमा आवेदन दिएको छ ।
यसैगरी, होटल तथा पर्यटन क्षेत्रका ९ कम्पनी पनि आईपीओ निष्कासको लागि सेबोनको अनुमतिको पखाईमा रहेका छन् । होटल तथा पर्यटन क्षेत्रका ९ कम्पनीले २ करोड ६५ लाख ९३ हजार १३० कित्ता सेयर निष्कासनको लागि बोर्डमा आवेदन दिएका छन् । होटल तथा पर्यटन क्षेत्रको २ अर्ब ६५ करोड ९३ लाख १३ हजार रुपैयाँ बराबरको आईपीओ सेबोनको अनुमतिको पर्खाइमा रहेको छ।
यसैगरी, लगानी क्षेत्रका ४ कम्पनीले पनि आईपीओ निष्कासनको लागि सेबोनमा आवेदन दिएका छन् । लगानी क्षेत्रका चार कम्पनीले १ करोड ८६ लाख ५० हजार ३७४ कित्ता सेयर निष्कासनको लागि बोर्डसँग अनुमति मागेका हुन । लगानी क्षेत्रका यी कम्पनीले ३ अर्ब १४ करोड १० लाख ३७ हजार ५०० रुपैयाँ बराबरको आईपीओ ल्याउन लागेका हुन ।
यसैगरी, अन्य क्षेत्रका ११ कम्पनीले आईपीओ निष्कासनको लागि सेबोनमा आवेदन दिएका छन् । अन्य क्षेत्र तर्फको ४ करोड ११ लाख ८६ हजार ६९ कित्ता बराबरको आईपीओ निष्कासन गर्नको लागि बोर्डमा आवेदन दिएको हो । सेबोनमा अन्य क्षेत्रको ४ अर्ब ५७ करोड ९३ लाख ६ हजार ९०० रुपैयाँ बराबरको आईपीओ पाइपलाईनमा रहेको छ।
यसैगरी, माइक्रो इन्स्योरेन्स क्षेत्रका ३ कम्पनी पनि आईपीओ निष्कासन अनुमतिको पर्खाइमा रहेका छन् । यस क्षेत्रका ३ कम्पनीले ६ लाख ७५ हजार कित्ता सेयर निष्कासनको लागि सेबोनमा आवेदन दिएका छन् । सेबोनमा यस क्षेत्रको ६७ करोड ५० रुपैयाँ बराबरको आईपीओ पाईपलाईनमा रहेको छ । यी ७१ कम्पनीको आईपीओ निष्कास प्रक्रिया सेबोनको अनुमति पछिमात्र अगाडी बढ्ने छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life