Skip to content

एमालेको घोषणापत्रमा छुटेन मेट्रोरेल र मनोरेल, अन्य पुर्वाधारका योजना के-के छन् ?

काठमाडौं । नेकपा एमालेले फागुन २१ गते हुने प्रतिधिनिधि सभा निर्वाचनको घोषणापत्रमा मेट्रोरेल र मोनोरेल सञ्चालन गर्ने एजेन्डासहित देशभरका सडक, रेल, जलमार्ग र विमानस्थलमा ठूला पूर्वाधार योजना अघि सारेको छ। एमालेले यस अघिका चुनाहरुमा पनि यस्तो एजेन्डा राख्ने गरेकाे थियाे ।

नेकपा एमालेले आफ्नो घोषणापत्रमा  मेट्रोरेल, मोनोरेल, पाडवे, फास्ट ट्र्याक र धेरै यात्रु बोक्ने बस सेवा सञ्चालन गर्ने, विद्युतीय बस सेवा विस्तार गर्ने योजना राखेकाे छ । घोषणापत्रमा यातायात र पूर्वाधारलाई उच्च प्राथमिकतामा राख्दै सबै गाउँपालिकालाई सबै मौसममा चल्ने कम्तिमा एक सडकले जोड्ने योजना प्रस्तुत गरेको छ। यसैगरी,  जिल्ला सदरमुकाम र प्रदेश राजधानीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने, अब बन्ने सडकहरू कम्तिमा डबल लेनको हुने, र विगतमा निर्माण भएका सिंगल लेनका सडकहरूलाई डबल लेनमा स्तरोन्नति गर्ने याेजना राखेकाे छ।

पार्टीको योजना अनुसार भौगोलिक र प्राकृतिक हिसाबले असम्भव बाहेक नेपालको जुनसुकै भौगोलिक क्षेत्रमा बस्ने व्यक्ति औसत आधा घण्टा हिँडेर सडक यातायातको सुविधा पाउनेछन्। पूर्व–पश्चिम राजमार्गलाई एक्सप्रेस हाइवेमा स्तरोन्नति गर्ने, मध्यपहाडी (पुष्पलाल) राजमार्गलाई डेडिकेटेड डबल लेनको स्तरमा निर्माण गर्ने, तथा मदन भण्डारी र हुलाकी राजमार्गलाई रणनीतिक राजमार्गका रूपमा विकास गर्ने योजना छ। कोशी, गण्डकी र कर्णाली करिडोरलाई आर्थिक समृद्धिका मेरुदण्डका रूपमा विकास गर्ने र काठमाडौं–तराई द्रुतमार्ग समयमै सम्पन्न गर्ने लक्ष्य पनि घोषणापत्रमा समावेश गरिएकाे छ।

विद्युतीय रेलमार्गलाई प्राथमिकतामा राख्दै, एमालेले आगामी एक दशकभित्र पूर्व–पश्चिम विद्युतीय रेलमार्ग पूरा गर्ने र वीरगञ्ज–काठमाडौं तथा केरुङ–काठमाडौं विद्युतीय रेलमार्ग निर्माणका लागि पूर्वाधार तयारी तीव्र बनाउने योजना अघि सारेको छ। नेपाल–भारत अन्तरदेशीय रेल मार्ग पाँच वर्षभित्र पूरा गर्ने लक्ष्य पनि तय गरिएको छ।

पार्टीले मित्रराष्ट्र भारतसँग अन्तर्देशीय जलमार्ग र चीनसँग पारवहन तथा व्यापार सम्झौताअनुसार सामुद्रिक बन्दरगाहमार्फत अन्तर्राष्ट्रिय व्यापारमा पहुँच विकास गर्ने योजना पनि अघि सारिएको छ। काठमाडौँ–तराईरमधेस दूरतमार्गलगायत निर्माणाधीन राजमार्गहरूको निर्माण सम्पन्न गर्ने र राष्ट्रिय एकता तथा सन्तुलित क्षेत्रगत विकासको लागि सडक पूर्वाधारको गुरुयोजना तयार पारिने भनिएको छ।

एमालेले राजमार्ग, रेलमार्ग, जलमार्ग र विमानस्थललाई एकीकृत गरी ‘मल्टिमोडल ट्रान्सपोर्ट सिस्टम’को विकास गर्ने योजना अघि सारेको छ। यसले सुरक्षित, छिटो र आरामदायी यातायात सेवा सुनिश्चित गर्नेछ। सडकको गुणस्तर सुधार, अन्तर्राष्ट्रिय मापदण्डअनुसार रोड ज्योमेट्री र रोड फर्निचरको उत्कृष्ट अभ्यास पालन गर्ने, सडक सुरक्षामा सुधार, दुर्घटना न्यूनीकरण, ट्रमा सेन्टर र सुरक्षा पोष्टको व्यवस्था पनि घोषणापत्रमा उल्लेख छ।

शहरी क्षेत्रमा सार्वजनिक यातायात व्यवस्थित गरी दस मिनेटको दूरीमा पहुँच सुनिश्चित गर्ने, पैदलयात्रीको सुरक्षाको लागि सडक पेटीको प्रबन्ध गर्ने, विद्युतीय सवारी प्रवद्र्धन गर्ने र विद्युतीय भाडा प्रणाली विकास गर्ने योजना पनि समावेश गरिएको छ।

प्रमुख आन्तरिक विमानस्थललाई दैनिक १८ घन्टा सञ्चालन गर्ने र अन्तर्राष्ट्रिय विमानस्थललाई आधुनिक, सुविधासम्पन्न बनाउने योजना एमालेले अघि सारेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima