Skip to content

हरेक निर्वाचनमा नेताहरूको चुनावी नारा बन्छ दुलेगौँडा–हर्कपुर मोटरमार्ग, ठेक्का लागेको ७ वर्षसम्म अलपत्र

nabil bank

तनहुँ । दुलेगौँडा–हर्कपूर मोटरमार्ग हरेक निर्वाचनमा नेताहरूको चुनावी नारा बन्छ ।

स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभासम्म जो उम्मेदवार आए पनि एउटै वाचा गर्छन्, यो सडक बनाउँछु । यही सडकलाई देखाएर नेताहरुले चुनाव जिते पनि सडकको अवस्था उस्तै छ । वर्षौँ भयो, सडकको अवस्था सुध्रिएको छैन । वर्षायाममा हिलोले गाडी फस्छ, हिउँदमा धुलोले सास फेर्न गाह्रो हुन्छ ।

शुक्लागण्डकी नगरपालिका–३ कालिम¥याङका दलबहादुर थापाले चुनावका बेला जनतालाई आश्वासन देखाएकाहरुले चुनाव जितेपछि काम नगरेको गुनासो गरे । उनले भने, “चुनाव आउँदा हामी जनताको घर–घर धाउँछन् । हात जोड्छन्, सपना देखाउँछन् । तर, जितेपछि हामी को हौँ भनेर कसैले सोध्दैन । सडकको यस्तो हालत देख्दा नेताको आँखा नखुल्नु लाजमर्दो हो । चुनाव आउँदा मात्रै हामी नागरिक हुन्छौँ ।”

शुक्लागण्डकी नगरपालिका–६ ब्यागनका विष्णुमाया परियारले चुनावका बेला मात्रै सडकले प्राथमिकतामा पाउने गरेकामा गुनासो गरे । उनले भने “सडकको सास्ती कति छ, शब्दमा बयान गर्नै सकिँदैन । नेताहरूले यो बाटोलाई चुनावी भाषणको मसला मात्रै बनाए । हामीले दुःख भोगिरहेका छौँ, उनीहरू भाषण गरेर सत्तामा पुगिरहेका छन् ।”

दुलेगौँडा–हर्कपुर मोटरमार्गको शुक्लागण्डकी नगरपालिका–३ वन्केवाको टारदेखि म्याग्दे गाउँपालिका–६ हर्कपुर खण्ड कालोपत्रेका लागि ठेक्का लगाएको ७ वर्ष पुगेको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ योजनाअन्तर्गत दुलेगौँडा–हर्कपुर मोटरमार्ग कालोपत्रे गर्न विसं २०७६ कात्तिक ४ गते शङ्करमाली निर्माण सेवा प्रालि काठमाडौँले ठेक्का लियो ।

कूल १०.१८ किलोमिटर सडक कालोपत्र विसं २०७८ माघ १६ गतेभित्र सक्ने सम्झौता भएपनि हालसम्म चार पटक म्याद थप भएको छ । थपिएको म्याद आगामी चैतमा सकिन्छ । तर, काम भने ५० प्रतिशत पूरा भएको छैन ।

शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने उक्त खण्डको दूरी २३ किलोमिटर छ । पहिलो चरणमा १० किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो ।

स्थानीय एवं दुलेगौँडा हर्कपुर मोटरमार्ग उपभोक्ता समितिका पूर्वअध्यक्ष देउबहादुर श्रेष्ठले यस क्षेत्रकै सबैभन्दा पुरानो सडक समयमै सम्पन्न नहुँदा स्थानीय र यात्रुले धुलो र हिलोको मार खेपेको बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi