Skip to content

डाँडाखेत-राहुघाट प्रसारण लाइनः ३ करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

nabil bank

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइनको टावर निर्माण भएको जग्गाका धनीहरूलाई ३ करोडभन्दा बढी मुआब्जा वितरण भएको छ ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गठन भएको उपसमितिले कायम गरेको मूल्यअनुसार टावर निर्माण भएको जग्गाका धनीहरूलाई मात्र हालसम्म ३ करोड २९ लाख ६४ हजार ५६७ मुआब्जा वितरण भएको हो ।

आयोजनाका प्रशासकीय अधिकृत मातृका तिमिल्सिनाले मुआब्जाबापत दुई करोड २९ लाख २९ हजार ७२८ वितरण भएको जानकारी दिए । उनले भने, “आयोजनाको ऋण लगानीकर्ता एसियाली विकास बैंक (एडिबी) को कार्यविधिअनुसार गरिब, महिला प्रमुख घरपरिवार, दलित÷जनजाति, अशक्तको आधारमा थप एक करोड ३४ हजार ८३९ वितरण भइसकेको छ । ”

पच्चीस किलोमिटर दूरीको प्रसारण लाइनका ८२ टावरमध्ये ४० वन क्षेत्र र ४२ व्यक्तिगत जग्गामा छन् । हालसम्म ६६ जनाले मुआब्जा लगिसकेका र सात जनाले मुआब्जा लैजाने प्रक्रियामा रहेका प्रशासकीय अधिकृत तिमिल्सिनाले बताउनुभयो । विसं २०७९ मा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गठन भएको उपसमितिले यस आयोजनाको टावर रहने जग्गाका धनीहरूलाई प्रतिरोपनी ९ लाखदेखि १३ लाख ५० हजारका दरले मुआब्जा निर्धारण गरेको थियो ।

तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

प्रसारण लाइनको तारमुनि भोगाधिकार क्षेत्रमा पर्ने जग्गाका धनीहरूलाई पनि क्षतिपूर्ति वितरण गर्न दररेट निर्धारणको प्रक्रियामा रहेको आयोजनाले जनाएको छ । प्रसारण लाइनको बीच भागदेखि दायाँ र बायाँ नौ–नौ मिटरमा रहेको निजी जग्गाका धनीहरूले क्षतिपूर्ति पाउने व्यवस्था छ ।

चार सय ५४ कित्ता जग्गा प्रसारण लाइनको तारमुनि भोगाधिकार क्षेत्रमा पर्ने प्रारम्भिक विवरण सङ्कलन भएको छ । यसैगरी क्षतिपूर्ति वितरणका लागि पहिलो चरणमा तारमुनि पर्ने २२ वटा घरटहराको पहिचान भएको छ । तारमुनि पर्ने थप भौतिक संरचनाको पहिचान कार्यलाई निरन्तरता दिएको आयोजनाले जनाएको छ । आयोजनाले सबस्टेशन निर्माणका लागि मालिका गाउँपालिका–७ बिमको डाँडाखेतमा ५१ रोपनी र रघुगङ्गा गाउँपालिका–३ राहुघाट अम्बाङमा ९० रोपनी जग्गा अधिग्रहण गरेको थियो । वन क्षेत्र प्रयोग गरेबापत रु चार करोड ५० लाखमा ५०४ रोपनी जग्गा खरिद गरेर सरकारलाई उपलब्ध गराइसकेको छ ।

प्रसारण लाइन प्रभावित क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १५ जनालाई सवारी चालक, १५ जनालाई हाउसवायरिङ र प्रभावित क्षेत्रमा पर्ने १९ सामुदायिक वनका दुई–दुई जनालाई गैरकाष्ठ वनपैदावार तालिम प्रदान गरिएको छ ।

सामुदायिक वन उपभोक्ता समूहको मागअनुसार वन डढेलो नियन्त्रण र प्रशासनीय कार्य सञ्चालनमा आवश्यक सामग्री वितरण गरेको आयोजनाले प्रभावित क्षेत्रका १८ वटा सामुदायिक विद्यालय तथा विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी गरेको छ । आयोजना प्रभावित मालिका गाउँपालिका–७, ६, मङ्गला गाउँपालिका–१, २, बेनी नगरपालिका–५, ९ र रघुगङ्गा गाउँपालिका–३ का मठमन्दिर, आमा समूह, विद्यालयलाई निर्माणजन्य जिन्सी सामग्री वितरण गरिएको छ । विभिन्न ठाउँमा जनचेतनामूलक होडिङ बोर्ड राखिएको छ ।

भौतिक प्रगति ७८ प्रतिशत

डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको हालसम्म ७८ प्रतिशत भौतिक प्रगति भएको छ । म्याग्दी र राहुघाट बेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युत्लाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन यो आयोजना सञ्चालन भएको हो ।

प्रसारण लाइन र सबस्टेशन निर्माणका लागि सन् २०२१ को डिसेम्वर ३१ मा रु तीन अर्ब ५७ करोडमा लार्सन एन्ड टुयुब्रो लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो । पहिलोपटकको म्याद गत जुलाई १६ र दोस्रोपटकको म्याद नोभेम्बर १६ सम्ममा सकिएपछि २०२६ मे १६ सम्मका लागि तेस्रोपटक म्याद थपिएको छ ।

प्रसारण लाइनको क्षेत्राधिकारमा पर्ने वन क्षेत्रमा रुख कटान आदेश प्राप्त नहुुनु, राहुघाट सबस्टेशन निर्माणस्थलको कमजोर भूगोल, विपद्को जोखिम र केही टावर निर्माणस्थलमा समुदायको विवादका कारणले निर्माण अवधि लम्बिएको आयोजना प्रमुख रोशन अग्रवालले बताए । उनका अनुसार अबको पाँच महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित ठेकेदारले निर्माणकार्यलाई तीव्रता दिएका छन् ।

एक सय ३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको हालसम्म ८२ वटामध्ये ७१ वटा खडा भएका छन् । दुईवटाबाहेक सबै टावरमा ठेकेदारले काम थालेको छ । दश दशमलव पाँच किलोमिटरमा तार तान्ने काम पनि सकिएको आयोजनाका इन्जिनियर सुरज गुरुङले बताउनुभयो । प्रसारण लाइन र सबस्टेशनको उपकरण आयात भइसकेको छ ।

डाँडाखेतको सबस्टेशनमा ९५ प्रतिशत, प्रसारण लाइनमा ७० प्रतिशत र राहुघाट सबस्टेशनमा ६५ प्रतिशत प्रगति भएको छ । एलएनटीका आयोजना व्यवस्थापक सुभाषचन्द्र शर्माले मजदुर र उपकरण थपेर तोकिएको समयभित्र सम्पन्न गराउने प्रतिबद्धता जनाउनुभयो । एकाउन्न रोपनी क्षेत्रफलमा निर्माण भएको डाँडाखेत सबस्टेशनमा १३३-३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान भइरहेको छ । २२०-१३२-३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सबस्टेशनमा उपकरण राख्ने र कार्यालयको भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

कुल रु चार अर्ब ८८ करोड लागत अनुमान गरिएको आयोजना निर्माणका लागि रु एक अर्ब पाँच करोड विद्युत् प्राधिकरण र रु तीन अर्ब ८२ करोड एसियाली विकास बैंकको ऋण लगानी छ । एसियाली विकास बैंकसँग भएको २७ मिलियन डलर ऋण सम्झौता पछिल्लोपटक बढाएर ३१ मिलियन डलर बनाइएको छ । एसियाली विकास बैंकले विद्युत् प्रसारण लाइन आधुनिकीकरण परियोजनामार्फत राहुघाट–डाँडाखेत प्रसारण लाइन बनाउन ऋण लगानी गरेको हो ।

म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चारवटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् । राहुघाटमा ३५।५ मेगावाटको चिमखोला–राहुघाट–मङ्गले, ४८ मेगावाटको अपर राहुघाट, २१.३ मेगावाट क्षमताको ठूलोखोला र २३.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले उत्पादन थालेका छन् ।

चालीस मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् । तुदी पावरले बनाएको चिमखोला–राहुघाट–मङ्गले र संयुक्त ऊर्जाको ठूलोखोला जलविद्युत् आयोजनाले अस्थायी टावर बनाएर २२० केभी क्षमताको कालीगण्डकी प्रसारण लाइनमा विद्युत् आपूर्ति गराएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi