महेन्द्रनगर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनाकी ३३ वर्षीय गीता चौधरी कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरण मन्त्री बनेपछि बुवा जयराम डगौंराले जनताको हितमा काम गर्न सुझाए ।
“छोरी मन्त्री बनेको खबरले हाम्रो परिवारमा खुसी छाएको छ ।” गीताका बुवा जयरामले भने, “सिङ्गो देशका जनता खुसी हुने गरी छोरीले पाएको जिम्मेवारी बहन गर्न सकोस ।”
राष्ट्रिय स्वतन्त्र पार्टीबाट कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा समानुपातिक सांसद बनेकी गीता यहाँबाट चौधरी समुदायबाट सङ्घीय सरकारको मन्त्री बन्ने पहिलो थारु महिला छन् । शुक्लाफाँटा नगरपालिका–३ स्थित जनज्योति आधारभूत विद्यालय जोनापुरमा प्रावि तहको अध्ययन गरेकी चौधरीले माध्यमिक तहको अध्ययन राष्ट्रिय मावि पिपलाडीबाट गरेकी छिन् । झलारी बजारमा रहेको श्रीकृष्ण उच्च माविबाट प्रवीणता प्रमाणपत्र तह अध्ययन गरेकी उनले काठमाडौँ स्कुल एफ लबाट स्नातक र स्नाकोत्तर तह नेपाल ल क्याम्पसबाट पूरा गरेकी छिन्् । चौधरी कानुन व्यवसायी समेत हुन् ।
“सात बहिनी र एक भाइमध्येकी माहिली गीता बाल्यकालदेखि नै अध्ययन र समाजका हुने विभेद् र कुरुतिकाविरुद्ध बोल्थिन् ।” बुवा जयरामले भने–“हामी निम्म आयस्रोत भएको परिवारबाट मन्त्री बनेको खबरले हर्षित छौँ ।” साधारण लेखपढ गरेका गीताका बुवा जयरामले छोराछोरी पढाउन निकै सङ्घर्ष गरेको बताए ।
“खेती किसानी र पछिल्लो समय सटरिङको काम गरेर घरखर्च र छोराछोरीको खर्च जुटाउँदै आएको छु”, उनले भने–“छोरीको मेहनत र अध्ययन सफलताले यहाँसम्मको सफलता मिलेको हो ।”
त्यसैगरी मन्त्री गीताका फूपाजु डम्बर चौधरीले अध्ययनका लागि निकै दुखः गरेको बताए । “पढाइका लागि ऋण गरेर भए पनि पछि नहट्ने बानी थियो”, उनले भने “विवाहपछि अध्ययनसँगै र राजनीतिमा होमिएर यो स्थान बनाइन् ।”
बुटवलको सैनामैनाका सुनिल चौधरीसित विवाह गर्नुभएकी चोधरीका एक छोरी छन् । गीताका श्रीमान् सुनिल कृषि क्याम्पसमा अध्यापन गर्छन । विभिन्न क्लब, बाल क्लब र संस्थामा आवद्ध हुन मन पराउने चौधरी करातेको समेत खेलाडी हुन् । चौधरीले भने, “घरको दयनीय अवस्थाकाबीच पनि गीताले गरेको सङ्घर्ष प्रेरणादायी छ ।”
नागरिक उन्मुक्ति पार्टीबाट २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा गीता सुदूरपश्चिम प्रदेशसभा सदस्यमा उम्मेदवार बने । पहिलो पटक उम्मेदवार हुँदा पनि उनले सम्मानजनक मत पाए । केही समयअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी चौधरीलाई रास्वपाले यहाँबाट समानुपातिक उम्मेदवार बनाएको थियो ।












प्रतिक्रिया दिनुहोस्