काठमाडौं । वित्तीय रुपमा सञ्चालन हुन नसक्ने भएपछि नेपाल धितोपत्र बोर्डले ५५ नम्बरको भृकुटी स्टक ब्रोकिङ लिमिटेडलाई निलम्बन गरेको छ ।
सोमबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले उक्त ब्रोकरलाई तीन महिना निलम्बर गर्ने लगानयतका कारबाही गर्ने निर्णय गरेको छ । उक्त निर्णयको माइन्युट भने हुन बाँकी छ । आज साँझसम्म माइन्युट हुने बोर्डले जनाएको छ ।
ब्रोकरले लामो समयदेखि उधारो कारोबार गरिरहेको पाइएपछि कारबाही गर्ने निर्णय भएको बोर्डको भनाइ छ ।
ब्रोकरले हाल सम्पत्ति शुद्धीकरणका सम्बन्धमा अनुसन्धान भइरहेका व्यवसायी दीपक भट्टसँग नियम विपरीत करोडौको उधारो कारोबार गरेको पाइएपछि कारबाही गर्न लागेको हो ।
बोर्ड स्रोतका अनुसार उधारो कारोबार गर्दा ब्रोकर हाल नियमित सञ्चालन हुन नसक्ने स्थितीमा पुगेको छ । दैनिक रुपमा सञ्चालन समेत हुन आर्थिक रुपमा असक्षम देखिएपछि निलम्बन नै गर्नु परेको बोर्डका एक अधिकारीले बताए ।
साथै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हाल ब्रोकरका लगानीकर्ता, केही सञ्चालकका विषयमा पनि अनुसन्धान जारी राखेको छ ।
हालको कानूनी व्यवस्था अनुसार सेयर कारोबार गर्नुअघि ब्रोकरले लगानीकर्ताबाट कम्तीमा २५ प्रतिशत मार्जिन रकम लिनुपर्छ । उक्त ब्रोकरले यो कानूनी व्यवस्था पालना नगरेको पाइएको छ ।
सेबोनले ब्रोकरलाई कारबाही स्वरुप तीन महिना निलम्बन गर्दा उक्त ब्रोकरमा रहेका लगानीकर्ताले कारोबार गर्न पाउने वा नपाउने भन्ने विषय सबैका लागि चासो बनेको छ ।
बोर्डका एक अधिकारीका अनुसार ब्रोकरलाई कारबाही गरेपनि लगानीकर्ता भने सेयर कारोबार गर्न बाट बञ्चित नहुने भएका छन् । त्यसका लागि केही झन्झट भने हुने छ ।
बोर्डले भृकुटी स्टक ब्रोकिङलाई तीन महिना निलम्बन गर्दा लगानीकर्ताले अर्को ब्रोकरबाट नयाँ टिएमएस लिएर कारोबार गर्न पाँउछन् । डिम्याट नम्बर भने पुरानै कायम हुनेछ ।
बोर्ड स्रोतका अनुसार सोमबारको निर्णय माइन्युट भएपछि ब्रोकरलाई कारबाही गरेको पत्र पठाउँदा लगानीकर्तालाई अन्य ब्रोकरबाट कारोबार गर्न सहजिकरण गर्नु भनेर निर्देशन जारी गर्ने तयारी रहेको छ । त्यही निर्देशनमा कसरी सहजिकरण गर्ने भन्ने स्पष्ट लेखिने तयारी रहेको छ ।
‘‘ब्रोकरले वा ब्रोकरका सञ्चालकले गल्ती गर्दा कुनै पनि लगानीकर्ताले दुःख पाउनु हुँदैन । त्यो हुँदा हजारौ लगानीकर्ताको लगानी बन्धक हुन्छ’’ बोर्डका ति अधिकारीले भने ‘‘सेबोनले निर्देशन दिँदा लगानीकर्ताको हितलाई पनि ध्यानमा राख्ने छ ।’’ लगानीकर्तालाई अन्य ब्रोकरबाट भएपनि कारोबार गर्न दिने जनाइएको छ ।
यो ब्रोकरको शाखा काठमाडौंसहित ८ वटा कार्यालय रहेका छन् । जसमा धुलिखेल, चरिकोट, बिरेन्द्रनगर, बेनी, इटहरी, बिरगञ्ज र बर्दिबासमा शाखा रहेका छन् ।












प्रतिक्रिया दिनुहोस्