काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न ९ वटा निर्णय गरेको छ । आज १ बजे सिंहदरबारमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
जसमा बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाको लागि विश्व बैंकले प्रदान गर्ने ८५ मिलियन अमेरिकी डलर बराबरको सहलियतपूर्ण ऋण स्वीकार गर्ने, पेट्रोल, डिजेल र मट्टीतेलको पैठारीमा लाग्दै आएको पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय भएको छ ।
यस्तै पुल्चोकमा रहेको जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रलाई गोदावरी–३ मा स्थानान्तरण गरी सो भवनमा जल तथा ऊर्जा आयोगको सचिवालयको कार्यालय स्थानान्तरण गर्ने, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष श्रीमणकुमार गौतम र सदस्य ललिता कुमारी महर्जन एवं ध्रुव आचार्यको राजीनामा स्वीकृत गर्ने निर्णय भएको छ ।
यस्तै नागढुंगा सुरुडमार्गको पश्चिम खण्ड क्षेत्रमा पर्ने धुनिवेसी नगरपालिका–९ मा रहेको करिब ९ रोपनी निजी जग्गा प्राप्त गर्न स्वीकृति प्रदान गर्ने, पासाङल्हामु राजमार्गको बेत्रावती–धुन्चे–स्याफ्रुवेशी सडक खण्डको बुनुवा घुम्तीमा पर्ने उत्तरगया गाउँपालिका–५ मा रहेको करिब २ रोपनी निजी जग्गा प्राप्त गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।
आज बसेको बैठकले काठमाडौं–तराई–मघेस द्रुतमार्ग सडक आयोजना निर्माणको लागि काठमाडौं, ललितपुर र मकवानपुरमा रहेको राष्ट्रिय वन क्षेत्रको कूल ४६.३९ हेक्टर जग्गा प्रयोग गर्न दिने र उक्त वन क्षेत्रमा रहेका विभिन्न प्रजातीका १८९८ गोटा रुख, पोल हटाउन स्वीकृति दिने, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदमा डा. गुणाकर भट्ट, डोटीलाई नियुक्त गर्ने र नेपाल राष्ट्र बैंकको रिक्त दुई डिपुटी गभर्नर पदमध्ये एकमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डितलाई नियुक्त गर्ने निर्णय भएको छ ।












प्रतिक्रिया दिनुहोस्