काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत देशभर स्थलगत तथ्याङ्क संकलन कार्य औपचारिक रूपमा सुरु गरेको छ।
‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ नारासहित सुरु गरिएको यो अभियान २०८२ चैत १ गतेदेखि २०८३ असार मसान्तसम्म सञ्चालन हुनेछ। यसका लागि ७७ जिल्लामा ८४ वटा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरिएको छ भने ४४३३ जना तालिमप्राप्त गणक तथा सुपरिवेक्षकहरू वैशाख २ गतेदेखि असार ७ गतेसम्म प्रतिष्ठान र व्यवसाय स्थलमा खटिनेछन्।
गणनाको उद्देश्य देशभर रहेका उद्योग, व्यापार, सेवा क्षेत्र, निजी व्यवसाय, सहकारी तथा सार्वजनिक संस्थानहरूको संख्या, भौगोलिक वितरण, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी आधारभूत विवरण संकलन गर्नु हो।
प्राप्त हुने तथ्यांकका आधारमा आगामी आव २०८३/८४ देखि कुल गार्हस्थ उत्पादन (जिडिपी) को अनुमान थप विश्वसनीय बनाउने, राष्ट्रिय लेखा प्रणाली अद्यावधिक गर्ने र सरकारका नीतिगत निर्णय तथा योजनाहरूका लागि आवश्यक आर्थिक आधार निर्माण गर्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ। यस गणनाबाट देशको आर्थिक तथ्याङ्क प्रणाली दीर्घकालीन रूपमा संस्थागत हुने अपेक्षा गरिएको छ।
अन्तर्राष्ट्रिय औद्योगिक वर्गीकरण अनुसार २१ क्षेत्रमध्ये १८ क्षेत्रका आर्थिक क्रियाकलापलाई गणनामा समेटिनेछ। दर्ता भएका वा नभएका, ठूला–साना उद्योग, कलकारखाना, व्यापार व्यवसाय, गैरसरकारी संस्था, तथा सरकारी–निजी शिक्षण र स्वास्थ्य संस्थासहितका आर्थिक एकाइ गणनामा समावेश हुनेछन्। तर कूटनीतिक नियोग, सार्वजनिक प्रशासन, सुरक्षा निकाय तथा घरायसी गतिविधिलाई यसमा राखिने छैन।
गणना सहज र प्रभावकारी बनाउन कार्यालयले अनलाइन तथ्याङ्क भर्ने सुविधा, डिजिटल नक्सा, दैनिक प्रतिवेदन प्रणाली तथा केन्द्रिय नियन्त्रण कक्षसहित आवश्यक प्राविधिक सुविधाहरू उपलब्ध गराएको छ।
तथ्याङ्क ऐन २०७९ बमोजिम उत्तरदाताको सबै विवरण गोप्य राखिने कार्यालयले स्पष्ट पारेको छ। कार्यालयले सबै उद्यमी, व्यवसायी, उद्योगी, सेवा प्रदायक र सरोकारवालालाई सत्य तथा पूर्ण विवरण उपलब्ध गराई गणना सफल बनाउन सहयोग गर्न आग्रह गर्दै थप जानकारीका लागि टोल फ्री नम्बर ११७८ प्रयोग गर्न अनुरोध गरेको छ।












प्रतिक्रिया दिनुहोस्