काठमाडौं । अध्यागमन विभागले संयुक्त अरब इमिरेट्स (यूएई) जान लागेका नेपाली नागरिकको राहदानीमा “इम्प्लाईमेन्ट इज स्ट्रिक्ली प्रोह्याबिटेड, भिजिट टिल १०-६-२०२६” भन्ने टिप्पणीसहित छाप लगाइएको विषयमा सार्वजनिक भएका बिषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विभागले बिहीबार जारी गरेको विज्ञप्तिमा यस्तो प्रकारको शर्त तोकेर प्रस्थान अनुमति दिने कुनै नीति वा निर्णय नभएको स्पष्ट पारेको छ। सामाजिक सञ्जाल र सञ्चारमाध्यममा फैलिएको उक्त विषयप्रति ध्यान दिँदै विभागले गैरकानुनी अभ्यास भएको आशंकामा आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ।
विभागका अनुसार हाल विदेश यात्रा धेरै नेपालीका लागि अवसर मात्र नभई बाध्यता समेत बनेको छ । यही अवस्थालाई दुरुपयोग गरी हुने ठगी र शोषण नियन्त्रण गर्न अध्यागमन प्रशासनले विभिन्न प्रयास गर्दै आएको छ।
नेपाल सरकारको २०८२ कार्तिक १३ को निर्णयअनुसार भिजिट भिसामा विदेश जाने नेपाली नागरिकका लागि प्रक्रिया सरलीकृत गरिएको विभागले जनाएको छ। उक्त निर्णयअनुसार कम्तीमा ६ महिना वैध राहदानी, गन्तव्य मुलुकसम्मको हवाई टिकट र सम्बन्धित देशको भिसा भएमा स्वघोषणासहित विदेश जान अनुमति दिने व्यवस्था गरिएको छ।
विभागले यात्रुहरूको आवागमनलाई झन्झटरहित बनाउन नीतिगत सहजीकरण र प्रणाली आधुनिकीकरणमा काम गरिरहेको पनि उल्लेख गरेको छ।
साथै, प्रचलित कानुन र विभागीय निर्णय विपरीत कार्य गर्ने कर्मचारीलाई कानुनी कारबाही गरिने विभागले चेतावनी दिएको छ।













प्रतिक्रिया दिनुहोस्