Skip to content
Prabhu

बाह्रैमहिना यातायात सञ्चालन गर्न नर्जाखोलामा पुल

बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाले सबैभन्दा टाढाको बस्तीमा नियमित यातायात सञ्चालनमा लागि मोटरेबल पुल निर्माण गरेको छ । गाउँ पुग्ने पुल निर्माण भएपछि स्थानीय हर्षित भएका छन् । गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको ८७ लाख ६७ हजार ९ सय २६ रुपैयाँ लागतमा पुल निर्माण गरेको हो । गाउँपालिकाको वडा नं १ मा पर्ने भिकोसघाट पुल निर्माण भएपछि वडा नं ५ र ६ का बस्तीमा सञ्चालन हुने यातायातलाई सहज भएको छ ।

सबैभन्दा विकट मानिने तमानखोलाको खुङ्खानी, नर्जाखानी र थास्पुरीलगायतका स्थानमा बर्खामा करिब चार महिना गाडी बन्द हुने गर्छन् । यस वर्ष वडा नं ५ को खुङ्खानीसम्म सहजरुपमा यातायात सञ्चालन गर्नका लागि यहाँ पुल बनाएको गाउँपालिकाले जनाएको छ ।

तमानखोलाको सबैभन्दा टाढाको गाउँ नर्जाखानी हो । वडा नं ६ को नर्जाखानी, पात्ले, भित्रिवनलगायतका गाउँका बाह्रै महिना यातायात सञ्चालनका लागि पाँच स्थानमा मोटरेबल पुल बन्नुपर्छ । यस वर्ष गाउँपालिकाले भिकोसघाटमा पुल बनाएपछि अब नर्जाखानी पुग्न चारवटा पुल बन्न जरुरी छ ।

भिकोसघाटमा बनेको पुलले वडा नं ५ को खुङ्खानीसहित गाउँमा बर्खामा यातायात सञ्चालन हुने स्थानीयले विश्वास लिएका छन् । पालिकाको केन्द्र बोङ्खादोभानदेखि नर्खाखानी पुग्न घट्टबोटघाट, भिकोसघाट, खुङ्खानीघाट, खुङ्खानीबगर घाट र नर्जाबगर घाट गरी पाँच स्थानमा मोटरेल पुल निर्माण गर्नुपर्छ । यस वर्ष भिकोसघाटमा पुल बनेपछि अब चार स्थानमा पुल बन्नुपर्नेछ । खुङ्खानी पुग्नका लागि भने अब एउटा पुल बने बाह्रै महिना गाडी सञ्चालन हुने थिए । गाउँपालिकाले यस वर्ष घट्टबोट घाटमा पुल नबनाई भिकोसघाटमा बनाएको छ ।

यहाँ पुल बनाउँदा एक स्थानमा गाडी फेरेपछि सिधै गाउँपालिका केन्द्र आउन सकिने तमानखोला गाउँपालिका–५ का अध्यक्ष हिराबहादुर विकले जानकारी दिए। घट्टबोटमा पाँच मिनेटको पैदल यात्रा गरेपछि अर्को गाडी फेर्न सहज हुने हुँदा चालु आर्थिक वर्षमा वडा नं १ को भिकोसघाटमा पुल निर्माण गरिएको उनको भनाइ छ । यस ठाउँमा बोल बनेपछि वडा नं ५ को खुङ्खानीका हजारौँ नागरिलाई सहन हुने विक बताए ।

अध्यक्ष विकले भने, ‘गाउँका हरेक बस्तीसम्म सडक पुगेको छ, तर बर्खामा गाडी चल्दैनन्, गाडी नचल्दा गाउँमा कोही बिरामी प¥यो भने अस्पताल पुर्याउन निकै समस्या थियो, सामान ढुवानी र यात्रा गर्न पनि उत्तिकै गाह्रो थियो, यो वर्ष गाउँपालिकाको लगानीमा भिकोसघाटमा पुल बन्यो यसले यहाँका धेरै नागरिकलाई सहज बनाउने छ, घट्टबोटमा आएर घाडी फेर्दा पाँच मिनेटमा झोलुङ्गे पुल तरेर अर्को गाडी पाउन सकिन्छ ।’

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले भौगोलिक विकटताका कारण गाउँ पुग्न धेरै भिरपहरा र खोला पार गर्नुपर्ने हुँदा नागरिकले समस्या भोग्नुपरेको बताए । यहाँका धेरै खोलामा करिब दर्जन पुल आवश्यक परेको भन्दै पालिकाको बजेटले नभ्याउन हुँदा पुल निर्माण गर्न नसकिएको बताए ।

पुल निर्माण लागि माथिल्लो निकायसँग माग गरी अध्यक्ष बुढामगरको भनाइ छ । पालिकाको केन्द्र बोङ्गादोभानस्थित बोङ्गाखोलामा भने अहिले पुल निर्माण भइरहेको भन्दै अन्य घाटमा पनि पुल निर्माण गर्दै जाने उनले बताए ।

‘पालिकाको केन्द्रबाट सबै वडामा पुग्नका लागि एक दर्जन पुलको आवश्यक पर्छ, हिउँदको समयमा त गाडी जसोतसो चल्छन्, तर बर्खामा खोला तर्न नसक्ने हुँदा ठप्प हुने गरेका छन्, यस वर्ष गाउँपालिकाले वडा नं ५ सम्म सहजरुपमा गाडी सञ्चालन गर्नेगरी पुल बनायौँ’, अध्यक्ष बुढामगरले भने, ‘हामीहरुले सबै गाउँ र बस्तीमा ढिलो चाँडो सडक त पुर्यायौँ, तर पुल बनाउन पालिकाको आर्थिक अवस्थाले नपुग्ने हुँदा निर्माण गर्न सकेका छैनौँ, अब विस्तारै सानोसानो बजेटबाट बन्ने सम्भावना भएका ठाउँमा पुल बनाउँछौँ ।’

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal