काठमाडौं। मंगलबार सेयर बजार सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला ४ कारोबार दिनदेखि घटिरहेको सेयर बजार आज सामान्य बढेर बन्द भएको हो।
मंगलबार सेयर बजार मापक नेप्से परिसूचक ८.७८ अंक बढेर २७१२.८६ विन्दुमा पुगेको छ। यसैगरी, सेन्सेटिभ इण्डेक्स १.२६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४७ अंक बढेको छ।
सेयर बजार बढेपनि आज कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ४ अर्ब २६ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ । बाँकी ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.०२ प्रतिशत बढेको छ। कारोबारमा आएको विकास बैंक, वित्त, होटल तथा पर्यटन, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक यस दिन सामान्य घटेको हो।
आज अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक ११.१६ प्रतिशत बढेको छ। यसैगरी, आज सोलु हाइड्रोपावरको सेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ भने धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ७ प्रतिशत बढेको छ। कारोबारमा आएको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सर्वाधिक ९.३१ प्रतिशत घटेको छ।












प्रतिक्रिया दिनुहोस्