Skip to content

बैंकिङ क्षेत्रका कर्मचारीमा चरम निराशा, राष्ट्र बैंक निरीह बन्दा समस्या बढ्दो  

nabil bank
तस्विर: एआई
काठमाडौं । आइतबार साँझ झापाको दमकस्थित लक्ष्मीमार्ग टोलका ४२ वर्षीय पीताम्बर खड्का घरको भुइँतलाको सिलिङ फ्यानमा झुन्डिएको अवस्थामा फेला परे ।
ग्लोबल आइएमई बैंकको कोसी प्रदेशअन्तर्गत कार्यरत खड्काले सामाजिक सञ्जाल फेसबुकमा आफू कार्यरत बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित चार जना उच्च व्यवस्थापकको तस्बिर सहित फेसबुकमा लेखे, ‘तिमीहरूले मलाई मार्‍यौ’ त्यसपछि उनले आत्महत्या गरे ।
२०८० असोज १५ गते नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको हेटौँडा शाखाका शाखा प्रमुख निराजन देवकोटाले त्रिशूली नदीमा हाम फालेर आत्महत्या गरे ।
मर्जरपछि ऋण सम्बन्धी अनुसन्धानका नाममा उनीमाथि लगातार दबाब दिइएको चर्चा त्यति बेला निकै चलेको थियो । धादिङ प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा बैंकको दबाबकै कारण उनले यस्तो कदम चालेको हुनसक्ने देखायो । प्रत्यक्षदर्शीहरूका अनुसार उनी बैंकको केन्द्रीय कार्यालय काठमाडौंबाट फर्कने क्रममा नदीमाथि मोटरसाइकल राखेर हाम फालेका थिए ।
यी दुई  सार्वजनिक भएका घटना प्रतिनिधि मूलक हुन् ।  बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीहरूका अनुसार अहिले बैंकभित्र धेरै कर्मचारी मानसिक दबाबमा, तनावमा काम गरिरहेका छन् । कतिपय पेसाबाट पलायन भइरहेका छन् भने कतिपय डिप्रेसनको अवस्थासम्म पुगेका छन् ।
बैंकिङ क्षेत्रको जागिरलाई ‘ग्ल्यामर जब’ को रूपमा पनि लिइन्छ । राम्रो तलब, आकर्षक सुविधा, घर गाडी खरिद गर्न करिब आधार दरमा नै कर्जा, चिटिक्क परेर आवत जावत, बाहिरबाट हेर्दा निकै आकर्षक । तर, पछिल्लो समय बाहिरबाट देख्नेलाई बैंकिङ क्षेत्रका कर्मचारीको जागिर जति आकर्षक छ, भित्र भित्रै त्यो भन्दा कैयन गुणा बढी चुनौतीको बिचमा छ ।
‘‘आफू भन्दा माथिल्ला तहले दिने लक्ष्य, काममा दबाब, मानसिक दबाब, शारीरिक थकानका बिच काम, अन्य विभिन्न तनाव, अनि खै बैंकका कर्मचारीलाई तनाव व्यवस्थापनको तालिम ?’’ एक बैंकका शाखा प्रमुखले प्रश्न गरे ।
यो प्रश्न केवल एक बैंकका शाखा प्रमुखको मात्रै होइन, प्राय बैंक तथा वित्तीय संस्थाका कर्मचारीको भएको हो ।
यस्तै यस्तै कारण ग्लोबल आइएमई बैंकका कर्मचारी खड्का, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका देवकोटाहरूको जस्तो घटना बाहिर आउने गरेका बैंकका कर्मचारीहरू बताउँछन्  ।
बैंकिङ क्षेत्रभित्र लामो समयदेखि गुम्सिएको मानसिक दबाब, व्यवस्थापनको दबाब, लक्ष्यको अस्वाभाविक प्रेसर लगायतका पिडाले गर्दा कर्मचारीले बेला बेलामा यस्ता अप्रिय निर्णय लिने गरेको जानकारहरूको तर्क छ । पछिल्ला घटनामा यस्ता विषयलाई नजर अन्दाज गर्न नमिल्ने विभिन्न बैंकका कर्मचारीहरू बताउँछन् ।
आइतबारको घटनाले बैंक वित्तीय संस्थामा कार्यरत कर्मचारीलाई स्तब्ध बनाएको भन्दै नेपाल वित्तीय संस्था कर्मचारी संघले विज्ञप्ति जारी गरेको दुःख व्यक्त गरेको छ । यो घटना बाहिर आएपछि सामाजिक सञ्जालमा पनि मतमतान्तर भइरहेको छ ।
विभिन्न बैंकका कर्मचारीहरूले यस घटनालाई एउटा व्यक्तिको मृत्युको रूपमा मात्र नभएर, बैंकिङ क्षेत्रभित्र मौन रूपमा बढिरहेको संकटको संकेत रूपमा चित्रण गर्छन् । जसले यो पेशाबाट पलायन हुने क्रम पनि बढिरहेको छ । “अहिले बैंकिङ क्षेत्रमा ३० वर्षभन्दा कम उमेर समूहको कर्मचारीको खडेरी नै लागेको छ” एक बैंकर भन्छन्, “यस्ता उमेर समूहले बैंकिङ क्षेत्रको जागिर सेक्योर छैन भनेर विदेश पलायन हुने बाटो रोजेका छन् ।”
एक समय नेपालको बैंकिङ क्षेत्र प्रतिष्ठा, स्थायित्व र सुरक्षित भविष्यको प्रतीक मानिन्थ्यो । “बैंकमा जागिर पाएपछि जीवन बन्यो” भन्ने सोच समाजमा थियो । धेरै युवाका लागि बैंकिङ जागिर विदेशभन्दा पनि आकर्षक मानिन्थ्यो । तर अहिले अवस्था बदलिएको ती बैंकर बताउँछन् ।
“पहिले बैंकमा जागिर खान पाए अमेरिका–अस्ट्रेलिया किन जाने भन्ने सोच थियो” ती बैंकर भन्छन्, “अहिले भने बैंकिङ क्षेत्रभित्रै बस्न डर लाग्ने अवस्था बनेको छ ।” कर्मचारीको अहिलेको सबैभन्दा ठुलो समस्या व्यवस्थापनबाट आउने अत्यधिक दबाब हो । “माथिबाट जसरी पनि लक्ष्य पूरा गर्न निर्देशन आउँछ । लक्ष्य पूरा नभए अपमान, कमजोर मूल्यांकन, सरुवा वा करिअर नै संकटमा पर्ने डर हुन्छ” उनी भन्छन् ।
“काम गर्छस् कि जागिर छोड्छस् भन्ने शैलीमा कुरा हुन्छ” अर्का एक बैंकका कर्मचारीले भने, “कर्मचारीलाई मान्छेभन्दा फरक व्यवहार गरिन्छ । अझ सीईओले कार्यकक्षमा बोलाए भने के के सुन्नु पर्ने हो पत्तो हुन्न ।”
पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाहरूबिच भएको मर्जरले समस्या झन् जटिल बनाएको कर्मचारीहरूको अनुभव छ । फरक–फरक कार्य संस्कृतिबाट आएका कर्मचारी एउटै संस्थामा मिसिँदा असहजता बढेको छ । “यो मेरो मान्छे, त्यो तेरो मान्छे” भन्ने समूहगत सोचले कार्यालयभित्र विभाजन र असुरक्षा थपिएको ती कर्मचारी बताउँछन् ।
नेपाल वित्तीय संस्था कर्मचारी संघ (फिउन) का उपाध्यक्ष शिवहरी भण्डारीका अनुसार बैंकिङ क्षेत्र अहिले बहु आयामिक तनावबाट गुज्रिरहेको छ । आर्थिक मन्दी, खराब कर्जाको चाप, मर्जरको असर, बढ्दो महँगी र लक्ष्यको दबाबले कर्मचारीहरू मानसिक रूपमा कमजोर बन्दै गएको उनी बताउँछन् ।
बैंकिङ क्षेत्र अहिले खराब कर्जा असुलीको दबाबमा पनि छ । विगतमा आक्रामक रूपमा ऋण लगानी गरिएका कारण अहिले बैंकहरू ऋण उठाउन संघर्ष गरिरहेका छन् । त्यसको प्रत्यक्ष दबाब फिल्डमा काम गर्ने कर्मचारीमाथि परेको भण्डारीको बुझाई छ ।
“हिजो बैंकका कर्मचारीलाई जसरी पनि ऋण लगानी गर भनियो, आज त्यही ऋण उठाउन कर्मचारीलाई पठाइएको छ” एक कर्मचारी भन्छन्, ‘ऋणीले उल्टै धम्की दिन्छन् । कतै कुटपिट पो हुन्छ कि भन्ने डर बोकेर काम गर्नुपरेको छ । कतै त बैंकका कर्मचारी माथि कुटपिट तथा मोसो नै दल्ने कामसम्म भएको छ ।”
कतिपय अवस्थामा ऋण असुलीका क्रममा कर्मचारीहरूले सामाजिक बेइज्जती र दुर्व्यवहारसमेत सहनुपरेको गुनासो छ । कर्मचारीहरूका अनुसार अहिले बैंकिङ क्षेत्रमा ‘वर्क–लाइफ ब्यालेन्स’ लगभग समाप्त भएको छ । शनिवार, सार्वजनिक बिदाका दिनमा पनि कर्मचारीलाई काममा बोलाइने गरिएको छ ।
“न छुट्टी पाइन्छ, न परिवारलाई समय दिन पाइन्छ” एक कर्मचारी भन्छन्, “लगातार तनावमा काम गर्दा सानो प्राविधिक गल्ती भयो भने पनि चोरजस्तो व्यवहार गरिन्छ ।” विशेष गरी नगद कारोबार गर्ने कर्मचारीहरू बढी मानसिक दबाबमा रहेको उनी बताउँछन् ।
कर्मचारीहरूका अनुसार समस्या यतिमै सीमित छैन । बैंकभित्र आफ्ना पीडा राख्ने स्वतन्त्र र सुरक्षित वातावरणसमेत छैन । “व्यवस्थापनविरुद्ध गुनासो गरे उल्टै आफू नै निशानामा पर्ने डर”  एक कर्मचारीले आफ्नो नाम उल्लेख नगरी सामाजिक सञ्जालमा लेखेका छन् । यस्ता घटना बढ्दै जानुमा बैंकका उच्च व्यवस्थापनको जति कमजोरी छ, त्यो भन्दा बढी कमजोरी नियामक निकाय अर्थात् नेपाल राष्ट्र बैंकको पनि छ ।
यी सबै घटना नेपाल राष्ट्र बैंक निरीह बस्दा, राष्ट्र बैंकबाट निरीक्षणमा आउने अधिकारीहरूको उच्च व्यवस्थापनसँग सिधै सम्पर्क हुने हुनाले पनि भइरहेको बैंकका कर्मचारीहरूको दाबी छ ।  उनीहरूका अनुसार राष्ट्र बैंकले बैंकहरूको वित्तीय अवस्था, नाफा खराब कर्जा जस्ता सूचकमा मात्रै ध्यान दिँदा कर्मचारीहरूको मानसिक अवस्था, कार्यस्थल संस्कृति र मानव संसाधन व्यवस्थापनलाई चासो दिएको छैन ।
“राष्ट्र बैंकका कर्मचारी आउँछन्, टिपोट गरेर जान्छन्” एक बैंकका कर्मचारी भन्छन्, “पछि व्यवस्थापनसँग मिटिङ हुन्छ र सबै कुरा सेलाउँछ । कर्मचारीको समस्या भने जहाँको त्यहीँ रहन्छ ।” कतिपय कर्मचारीले ट्रेड युनियनहरू समेत व्यवस्थापनकै प्रभावमा रहेको आरोप उनको छ । उनका अनुसार वास्तविक समस्या उठाउने कर्मचारीलाई संरक्षण गर्नेभन्दा पनि व्यवस्थापनसँग मिलाउने प्रवृत्ति बढी देखिन्छ ।
यस्ता समस्या नियामक निकायले व्यवस्थापन गर्न सक्नुपर्ने कर्मचारीको माग छ । “सरकारी निकाय पनि सक्रिय देखिएको छैन, राष्ट्र बैंकले यसमा ध्यान दिएको छैन” एक बैंकका कर्मचारी भन्छन्, “सीईओसम्म यस्तो कुरा लैजाँदा पनि कर्मचारीलाई एउटा ‘टार्गेट सेट’ गरेर ‘अपोइन्ट’ गरिएको हुन्छ । सीईओ तथा व्यवस्थापनले जसरी नि ‘टार्गेट’ पूरा गर भन्छन् । काम गर्ने वातावरण छैन भने पुरा गर्न पनि समस्या हुन्छ ।”
उनका अनुसार “अनुगमन गर्ने राष्ट्र बैंक हो । तर, यसमा राष्ट्र बैंक निरीह बनेको छ । राष्ट्र बैंकका कर्मचारीले बैंकका सीईओको कुरा सुन्छन्, बैंकका कर्मचारीको सुन्दैनन् ।”
कर्मचारीहरू भन्छन्, “राष्ट्र बैंकका कर्मचारी आउँछन्, समस्या टिपोट लेख्छन् र लिएर जान्छन् । तर, त्यो कुरा कार्यान्वयन गर्न बिर्सिन्छन् । फाट्टफुट्ट युनियनले राष्ट्र बैंकमा यस्तो समस्या लिएर जान्छन् । राष्ट्र बैंकले यस्तो कुरा लिएर जानेलाई नै प्रभावमा पार्छ । राष्ट्र बैंकका कर्मचारी र सीईओ मिलेर अपिल गर्न जानेका आफन्त दुई–चार जनालाई बरु जागिर लगाइदिन्छन् । यस्तो बेथितिका कारण बैंकिङ क्षेत्रमा द्वन्द्व निम्तिएको छ ।”
उनले थपे, “सबैभन्दा फितलो रेगुलेशन राष्ट्र बैंकको छ । राष्ट्र बैंकलाई कर्मचारीको समस्या थाहा नभएको पनि होइन । आउँछन्, टिपोट गरेर लैजान्छन् । अनि गएर हाकिमहरूसँग २–४ पटक मिटिङ बस्छन् । त्यसपछि केमा कुरा मिल्छ उहाँहरूको, त्यो कुरा नै गायब भएर आउँछ ।”
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi