काठमाडौं । बुढानीलकण्ठस्थित गणेश चोकमा सञ्चालित सब्रिना होटल अब ‘ट्राइब काठमाडौं’ को नामबाट सञ्चालन हुने भएको छ ।
सब्रिना होटल र ट्राइब होटलबीच भारतको राजधानी नयाँ दिल्लीमा सम्झौता भएको थियो । उक्त सम्झौतासँगै अब सब्रिना होटल ट्राइब काठमाडौं नामबाट सञ्चालन हुनेछ ।
ट्राइब विश्वप्रशिद्ध फ्रान्सेली होटल ग्रुप एकोर लाइफस्टाइल ब्रान्ड हो । विश्वभर ट्राइब ब्रान्डका २७ होटेल सञ्चालनमा छन् ।
सब्रिना होटलका अध्यक्ष निराजन थापाले एकोरसँग सम्झौताले नेपालमा ट्राइब ब्रान्ड ल्याएको बताए । थापाले होटल अब ल्याण्डमार्क लाइफस्टाइल गन्तव्य बन्ने विश्वास व्यक्त गरे ।
हाल होटल पाँचतारेमा स्तरोन्नती भइरहेको छ। स्तरोन्नतिपछि ११० वटा कोठा हुने थापाले बताए । उनका अनुसार स्तरोन्नतिपछि होटलमा ३ वटा रेस्टुरेन्ट रहने छन्, नेपालको अहिलेसम्मको सबैभन्दा ठूलो रुफटप रेस्टुरेन्ट हुने थापाले बताए ।
होटलमा पौडी पोखरी, हेल्थ क्लब, स्पा, जिम लगायतका सुविधा छन् । यो होटल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १० किलोमिटरभन्दा दुरीमा छ ।
होटलले साधारण सेयर आईपीओ ल्याउने तयारीमा रहेको छ । हाल कम्पनीको जारी पुँजी १ अर्ब २२ करोड रहेको छ । कम्पनीले ४७ करोड ४ लाख रुपैयाँको आईपीओ ल्याउने तयारी गरेको छ ।













प्रतिक्रिया दिनुहोस्