महोत्तरी । थोरै जग्गा भएका साना किसानलाई स्यालोट्युवबेलले राहत भएको छ । सिँचाइका अन्य कुनै साधन स्रोत जुटाउन नसक्ने किसानलाई थोरै लागतमा जडान हुने स्यालोट्युवबेलले राहत मिलेको हो । महोत्तरीमा निम्न वर्गका किसानले सिँचाइ प्रयोजनका लागि स्यालोट्युवबेल जडानतर्फ चासो बढाएका छन् ।
लगातारको लामो खडेरी र असन्तुलित वर्षाका कारण खेतीपातीमा राम्रो साथ नपाएका यहाँका किसानले बालीनालीको सिँचाइका लागि थोरै लागतमा स्यालोट्युवबेल जडान हुने भएपछि यसबारे सकारात्मक चासो बढाएका हुन् । स्यालोट्युवबेल जडानले बालीनाली लगाउने काममा सिँचाइ सहज हुँदै गएको किसान बताउँछन् ।
स्यालोट्युवबेल जडानमा सरकारले ८५ प्रतिशत अनुदान दिने र कुल लागत रु एक लाख नबढ्ने भएपछि किसानलाई सिँचाइका लागि यो सजिलो भएको हो । स्यालोट्युवबेल प्रयोगमा केही पहिलेदेखि नै आए पनि महोत्तरीमा पछिल्ला दुई वर्षयता यसप्रति किसानको आकर्षण बढेको छ । गत आर्थिक वर्ष २०७९÷८० मा एक सय ७५ वटा स्यालोट्युवबेल जडान भएर सिँचाइ प्रयोजनमा उपयोग गरिएपछि त्यसको देखासिकीले यसको माग गर्ने किसान यसपालि चालु आव २०८०÷८१ मा बढेका कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयले जनाएको छ । यसपालि जेठ १५ सम्म स्यालोट्युवबेल जडान गर्ने किसानको सङ्ख्या एक सय ८१ पुगेको कार्यालयका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत मनिषकुमार पालले जानकारी दिए। चालु आवको अन्त्यसम्म यो सङ्ख्या दुई सय नाघ्ने कार्यालयले जनाएको छ ।
पछिल्ला समय खडेरी पर्ने, अनुकूल वर्षा नहुने र जिल्लाका धेरै कम क्षेत्रमा स्थायी सिँचाइको कुलो पुगेको हुँदा किसान पानीकै अभावमा समयमा बालीनाली लगाउन नपाएर चिन्तामा पर्दै आएका छन् । एउटा स्यालोट्युवबेलले दुई बिघा क्षेत्रफलमा सजिलै सिँचाइ दिनसक्ने भएपछि यहाँका किसानलाई यो वरदानसरह नै भएको कृषि अधिकृत पाल बताए । जिल्लामा कुल ७० हजार हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा छ । यसमध्ये १० प्रतिशतमा मात्र नहर कुलो लाग्ने स्थायी सिँचाइ प्रबन्ध छ । यसबाहेक आकाशे पानीका भरको खेती गर्नुपर्ने यहाँका किसानका लागि स्यालोट्युवबेल कम झण्झटिलो र खर्च पनि कम लाग्ने उत्तम विकल्प रहेको उनको भनाइ छ ।
जिल्लाका सुदूरउत्तरी क्षेत्रका केही भागबाहेक जिल्लाका १५ वटै स्थानीय तहमा स्यालोट्युवबेल सफल बनेको छ । सुदूरउत्तरी गौशाला र बर्दिबास नगरपालिका क्षेत्रका सुदूरउत्तरी केही बस्तीबाहेक स्यालोट्युवबेल जिल्लाभरिमै सिँचाइ प्रयोजनमा सफल भएको पालले बताए।
स्यालोट्युवबेल जडानमा कार्यालयले प्राविधिक सहयोगसहितको ८५ प्रतिशत अनुदान दिएपछि किसानको लागत १५ प्रतिशतममात्र चाहिन्छ । ठाउँठाउँको पानीको मूल (मुहान) भेटिने सतहको गहिराइका आधारमा लागत केही फरक परे पनि अहिलेसम्मको जडान लागत एक लाख रुपैयाँ ननाघेको कार्यालयले जनाएको छ । यान्त्रिक उपकरणले पाइपलाई जमिनमुनिको पानीको सतहसम्म पुर्याएर पानी तान्न मिल्ने व्यवस्था मिलाइने यो कार्यक्रम कम लागतको प्रभावकारी रहेको कार्यालयका विज्ञ बताउँछन् ।
जिल्लामा यसपालि स्यालोट्युवबेल जडानका लागि एक सय २५ फिट गहिराइसम्मको इष्टिमेट गरिएको छ । बिजुली पुगेका ठाउँमा मोटर लगाएर पानी तान्न कम लागत लाग्ने र बिजुली नपुगेको ठाउँमा पम्पसेट लगाउनु पर्दा यसको लागत थोरै बढ्ने गरेको पाल बताए ।
किसानले स्यालोट्युवबेलले राहत दिए पनि खेतबारीसम्म विद्युत् सेवा पुर्याउन नसकिँदा र छिटोछरितो कृषि मिटर नपाइँदा सिँचाइमा लागत बढ्ने गुनासो गरेका छन् । बालीनाली त खेतबारीमै लगाइने हुँदा स्यालोट्युवबेल जडान गरिने ठाउँसम्म विद्युत् लाइन विस्तार र कृषि मिटर जडानमा स्थानीय तह, विद्युत् प्राधिकरण र कृषिसम्बद्ध कार्यालयले समन्वय गरी सेवा प्रवाह सहज बनाइदिनुपर्ने भङ्गाहा–४ का किसान सत्यनारायण यादवको भनाइ छ । स्यालोट्युवबेल माग्न र यो स्वीकृत गराउन गर्नुपर्ने दौडधुपले भने दिक्क बनाउने गरेको किसान बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्