Skip to content

द रिट्च कार्लटनको उपस्थितिले विश्वका अर्बपतिहरूको गन्तव्य नेपाल बन्न सक्छः अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

nabil bank

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तर्राष्ट्रिय लक्जरी होटल ब्रान्ड ‘द रिट्च कार्लटन’ नेपाल भित्रिनु सुखद् र उत्साहजनक उपलब्धि भएको बताएका छन्।

सोमबार अर्थ मन्त्रालयमा म्यारियट इन्टरनेशनलका अध्यक्ष डेभिस म्यारियट तथा नेपाली साझेदार चौधरी समूहका प्रतिनिधिसँग भएको भेटमा अर्थमन्त्री वाग्लेले द रिट्च कार्लटनको आगमनले नेपालको पर्यटन र लगानी क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्ने विश्वास व्यक्त गरे।

काठमाडौँको ठमेलमा चौधरी समूहसँगको साझेदारीमा द रिट्च कार्लटन सञ्चालन गर्ने घोषणा भएको दोस्रो दिन अर्थमन्त्री र म्यारियट समूहका प्रतिनिधिबीच मन्त्रालयमा भेटवार्ता भएको हो।

भेटका क्रममा अर्थमन्त्री वाग्लेले अध्यक्ष डेभिस म्यारियटलाई नेपालमा व्यवसाय विस्तार गरी विश्वका धनाढ्य पर्यटकहरूको नयाँ गन्तव्यका रूपमा नेपाललाई स्थापित गर्न योगदान पुर्‍याएको भन्दै धन्यवाद दिए।

“तपाईंहरूको नयाँ परियोजनाले लगानीकर्तामा नयाँ उत्साह थपेको छ। विश्वका धनाढ्य पर्यटकहरूले अब नेपालको द रिट्च कार्लटनलाई आफ्नो गन्तव्यका रूपमा हेर्न सक्ने वातावरण बनेको छ,” अर्थमन्त्री वाग्लेले भने, “यसले नेपालको पर्यटन उद्योगलाई नयाँ उचाइमा पुर्‍याउन मद्दत गर्नेछ।”

नयाँ सरकारले लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले म्यारियट र द रिट्च कार्लटनलाई काठमाडौँबाहिर पनि व्यवसाय विस्तार गर्न आग्रह गरे।

“सरकार तपाईंहरूको लगानी सुरक्षाप्रति पूर्ण रूपमा प्रतिबद्ध छ। व्यवसाय विस्तारका लागि आवश्यक हवाई तथा स्थलगत पूर्वाधार विकास हाम्रो प्राथमिकतामा छन्,” उनले भने, “तपाईंहरूले नेपालको अन्तर्राष्ट्रिय ब्रान्डिङमा योगदान दिनुहोस्। मलाई विश्वास छ, अब नेपाल विश्वका अर्बपतिहरूको समेत आकर्षक गन्तव्य बन्न सक्छ।”

अर्थमन्त्रीले लगानी सुरक्षा, प्रवर्द्धन तथा कानुनी सहजीकरणका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

भेटमा म्यारियट इन्टरनेशनलका अध्यक्ष डेभिस म्यारियटले नेपाललाई विश्वस्तरीय पर्यटन गन्तव्य तथा हिमालहरूको देशका रूपमा अन्तर्राष्ट्रिय बजारमा थप प्रवर्द्धन गर्न द रिट्च कार्लटनले महत्वपूर्ण भूमिका खेल्ने बताए।

“नेपालमा द रिट्च कार्लटनको घोषणा गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौँ,” उनले भने, “नेपाल प्रचुर पर्यटन सम्भावना भएको देश हो। विश्वस्तरीय ट्रेकिङ गन्तव्य र हिमालको देशमा हाम्रो उपस्थितिले सकारात्मक सन्देश प्रवाह गर्नेछ।”

उनले आगामी दिनमा नेपालमा थप लगानी विस्तार गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

भेटमा सीजी हस्पिटालिटी होल्डिङ्स तथा सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक राहुल चौधरीले नेपाल लगानीका अवसरहरूले भरिपूर्ण मुलुक भएको बताए। नयाँ सरकार गठनसँगै लगानीकर्तामा उत्साह बढेको उल्लेख गर्दै उनले सरकारको निरन्तर सहयोग र सहकार्य आवश्यक रहेको धारणा राखे।

भेटवार्तामा सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी, म्यारियट एशिया प्यासिफिक (चीनबाहेक) का अध्यक्ष राजीव मेनन तथा अर्थमन्त्रीको सचिवालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi