काठमाडौं । कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीले कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहाको सुविधा पाउने म्याद पुस मसान्तसम्म थप गरिएको छ ।
यसअघि २०८३ असोज मसान्तसम्म कायम रहेको म्याद कात्तिक ९ गतेको निर्णयअनुसार पुस मसान्तसम्म पुर्याइएको हो ।
कानूनले तोकेको म्यादभित्र विवरण पेश नगरेका, नवीकरण नगरेका वा दाखिल गर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना दाखिल नगरेका कम्पनीले यो सुविधा पाउनेछन् ।
त्यस्ता कम्पनीले कारोबार जारी राख्न वा कम्पनीको दर्ता खारेज गर्न चाहेमा आर्थिक वर्ष २०८२/८३ का लागि कानूनबमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा विवरण २०८३ पुस मसान्तभित्र पेश गर्नुपर्नेछ ।
तोकिएको म्यादभित्र आवश्यक विवरण तथा कर, शुल्क र दस्तुर दाखिल गरेमा सोभन्दा अघिको अवधिमा लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहा हुने व्यवस्था गरिएको छ ।
यस व्यवस्थाले लामो समयदेखि विवरण पेश नगरेका, नवीकरण नगरेका तथा आर्थिक दायित्व पूरा गर्न नसकेका कम्पनीलाई कानूनी प्रक्रिया पूरा गरी कारोबार निरन्तरता दिन वा दर्ता खारेज गर्न सहज हुने अपेक्षा गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्