काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालको आयात ३८.१८ प्रतिशतले बढेको छ भने निर्यात ५७.०३ प्रतिशतले वृद्धि भएको छ । आयातको तुलनामा निर्यातको वृद्धिदर बढी भए पनि कुल व्यापारमा आयातको हिस्सा उच्च रहँदा व्यापार घाटा ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म नेपालले ६ खर्ब ४६ अर्ब ७८ करोड २५ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब ६८ अर्ब ८ करोड ३३ लाख रुपैयाँ बराबरको आयात भएको थियो । यसरी एक वर्षको अवधिमा आयातमा उल्लेख्य वृद्धि भएको भन्सार विभागले जानकारी दिएको छ ।
यसैगरी, चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालबाट १ खर्ब १४ अर्ब २८ करोड ८४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ७२ अर्ब ७८ करोड २८ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो ।
आयात र निर्यात दुवैमा वृद्धि भए पनि आयातको परिमाण निर्यातभन्दा धेरै रहेकाले व्यापार घाटा थप बढेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म व्यापार घाटा ५ खर्ब ३२ अर्ब ४९ करोड ४० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो घाटा ३ खर्ब ९५ अर्ब ३० करोड ५१ लाख रुपैयाँ रहेको थियो । गत आवको तीन महिनाको तुलनामा चालु आवमा व्यापार घाटा ३४.७१ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार ७ खर्ब ६१ अर्ब ७ करोड ९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल वैदेशिक व्यापार ५ खर्ब ४० अर्ब ८६ करोड ६१ लाख रुपैयाँ रहेको थियो । गत आवको तीन महिनाको तुलनामा चालु आवमा कुल वैदेशिक व्यापारमा ४०.७१ प्रतिशतको वृद्धि भएको छ ।












प्रतिक्रिया दिनुहोस्