काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले एलपी ग्यासको बिक्री वितरण गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्नुपर्ने नेपाल आयल निगमको निर्देशनको स्वागत गरेको छ । महासंघले ग्यास व्यवसायीलाई निगमको निर्देशन पूर्ण रूपमा पालना गर्न र उपभोक्तालाई ग्यास खरिद गर्दा अनिवार्य रूपमा बिल लिन आग्रह गरेको हो ।
महासंघले बुधबार विज्ञप्ति जारी गर्दै निगमको उक्त कदमलाई स्वागतयोग्य भन्दै ग्यासको कारोबारलाई थप व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउन यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।
गत ९ कात्तिकमा निगमको एलपी ग्यास तथा एभिएसन विभागले सम्पूर्ण ग्यास उद्योगलाई पत्राचार गर्दै बिक्रेतामार्फत उपभोक्तालाई अनिवार्य रूपमा बिल बिजक उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।
निगमले ग्यास बिक्रेताले बिक्रीपश्चात् उपभोक्तालाई बिल बिजक नदिने गरेको गुनासो बढ्दै गएको जनाएको थियो । ग्यासको कारोबारलाई व्यवस्थित बनाउन महासंघले पनि यसअघि पटक–पटक निगमसमक्ष विभिन्न सुझाव प्रस्तुत गर्दै आवश्यक व्यवस्था मिलाउन अनुरोध गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।
ग्यासको बिक्री वितरणमा अनिवार्य रूपमा भ्याट बिल वा बीजक जारी गर्ने व्यवस्था लागू हुनु यस क्षेत्रको कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउने दिशामा एउटा महत्वपूर्ण उपलब्धि हुने महासंघको ठहर छ ।
महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले सम्पूर्ण ग्यास व्यवसायीलाई नेपाल आयल निगमको निर्देशन पूर्ण रूपमा पालना गर्न आग्रह गरेका छन् । उनले ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा बिल बिजक उपलब्ध गराउने व्यवस्था कार्यान्वयन गर्न व्यवसायीलाई अनुरोध गरेका हुन् ।
त्यसैगरी, महासंघले आम उपभोक्तालाई पनि ग्यास खरिद गर्दा बिक्रेतासँग अनिवार्य रूपमा बिल वा बीजक माग्न र लिने बानी बसाल्न आग्रह गरेको छ ।
ग्यास खरिद गर्दा बिल लिने र बिक्री गर्दा बिल दिने अभ्यासले कारोबारमा पारदर्शिता कायम गर्न तथा ग्यास व्यवसायलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने महासंघको विश्वास छ ।












प्रतिक्रिया दिनुहोस्