काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले नेपालको आर्थिक वृद्धिदर ६ देखि ७ प्रतिशतसम्म पुर्याउन अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघलाई नेपालमा लगानी भित्र्याउन र लगानी प्रवर्द्धनमा सहयोग गर्न आह्वान गरेका छन् ।
महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. भट्टले नेपाल अहिले करिब ४ प्रतिशतको आर्थिक वृद्धिको बाटोमा रहेको उल्लेख गर्दै त्यसलाई ६ देखि ७ प्रतिशतसम्म पुर्याउनु प्रमुख चुनौती र चासोको विषय बनेको बताए ।
उनले नेपालको आर्थिक विकासमा युवाहरुको ज्ञान, सीप, क्षमता, प्राविधिक दक्षता तथा अन्तर्राष्ट्रिय अनुभव महत्त्वपूर्ण हुने बताए । विदेशमा हासिल गरेको ज्ञान, सीप र अनुभवलाई नेपालको आर्थिक विकास तथा लगानी विस्तारमा उपयोग गर्नुपर्ने उनको भनाइ थियो ।
डा.भट्टले सीमाविहीन तथा तौलरहित व्यापारको अवधारणालाई प्रवर्द्धन गर्न पनि महासंघको महत्त्वपूर्ण भूमिका रहने बताए । चालु आर्थिक वर्षको बजेटमा समेत यस विषयलाई प्राथमिकता दिइएको उल्लेख गर्दै उनले नयाँ व्यापारिक सम्भावनाको उपयोग गर्न निजी क्षेत्र र विदेशमा रहेका नेपाली उद्यमीको सहयोग आवश्यक रहेको बताए ।
उपाध्यक्ष डा.भट्टले नेपालमा जलविद्युत् उत्पादन तथा निर्यात, कृषि क्षेत्रको व्यावसायीकरण र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउने पर्याप्त सम्भावना रहेको बताए ।
विपद्का बाबजुद पनि नेपालले विद्युत् निर्यात गरिरहेको उल्लेख गर्दै उनले जलविद्युत् उत्पादन बढाएर अन्तर्राष्ट्रिय बजारमा निर्यात विस्तार गर्न सकिने बताए । त्यस्तै, कृषि क्षेत्रलाई व्यावसायिक बनाउँदै नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न सकिने उनको भनाइ थियो ।
शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्न सके नेपाललाई महत्त्वपूर्ण लगानी गन्तव्यका रूपमा विकास गर्न सकिने उनले बताए । भट्टले नेपालमा लगानीको प्रतिफल राम्रो रहेको उल्लेख गर्दै यसबारे अन्तर्राष्ट्रिय जगत्मा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए । उनका अनुसार पछिल्लो ६ वर्षमा नेपालमा भित्रिएको प्रत्यक्ष वैदेशिक लगानीभन्दा नेपालबाट बाहिरिएको लाभांशको रकम बढी छ । नेपालमा लगानीको प्रतिफल राम्रो रहेको सन्देश अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउन सके थप लगानी आकर्षित गर्न सहयोग पुग्ने उनले बताए ।
त्यस्तै, नेपालमा उपलब्ध श्रमशक्तिलाई सीप, ज्ञान र दक्षतायुक्त मानव पुँजीमा रूपान्तरण गर्नुपर्नेमा उनले जोड दिए । श्रमशक्तिको क्षमता विकास र प्राविधिक दक्षता अभिवृद्धि गर्न सके त्यसले देशको उत्पादकत्व तथा आर्थिक वृद्धिमा योगदान पुर्याउने उनको भनाइ थियो ।
उपाध्यक्ष डा. भट्टले राष्ट्रिय योजना आयोगले नयाँ सरकार गठन भएपछि समृद्धि र सुशासनलाई केन्द्रमा राखेर काम गरिरहेको जानकारी दिए ।
आगामी २५ वर्षमा नेपालको विकासको दिशा कस्तो हुने भन्ने विषयमा आयोगले दीर्घकालीन विकासको मार्गचित्र तयार गर्ने काम गरिरहेको उनले बताए ।
नेपालको आर्थिक वृद्धिदर न्यून रहेको उल्लेख गर्दै उनले त्यसलाई विस्तार गर्न निजी क्षेत्र, उद्यमी तथा एनआरएनएको साथ र सहयोग आवश्यक रहेको बताए ।
नेपालमा लगानी प्रवर्द्धन गर्ने, व्यापार तथा उद्योग क्षेत्रको विकास गर्ने र समग्र अर्थतन्त्रमा योगदान पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्