Skip to content

बैंकको कर्मचारीका दु:ख संसदमा प्रवेश, समस्या समाधान गर्न राष्ट्र बैंकलाई सांसद साजिदाको माग 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले बैंकिङ क्षेत्रका कर्मचारीहरूले भोगिरहेका समस्याप्रति सरकार र नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएकी छन्। उनले बैंकका कर्मचारीहरूको समस्या समाधानका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक र बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बीच तत्काल छलफल हुनुपर्ने माग गरेकी छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिद्धिकीले बैंकिङ क्षेत्रभित्र देखिएका श्रमसम्बन्धी समस्या समाधानका लागि सरकारले आवश्यक निर्णय लिनुपर्ने बताइन्। उनले बैंक कर्मचारीहरूले निर्धारित समयभन्दा बढी काम गर्नुपर्ने, पर्याप्त बिदा नपाउने, तलब–सुविधा अपेक्षाकृत कम हुने तथा रातिसम्म काम गर्दा विशेषगरी महिला कर्मचारीहरूले थप कठिनाइ भोग्नुपरेको उल्लेख गरिन्।
उनले संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने मौलिक अधिकारको संरक्षण सबै निकायको दायित्व भएको बताउँदै बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीहरूको अवस्था सुधार गर्न सम्बन्धित निकायले गम्भीर ध्यान दिनुपर्ने धारणा राखिन्।
सांसद सिद्धिकीले बैंक कर्मचारीहरू आत्महत्यासम्म गर्न बाध्य हुने अवस्था सिर्जना हुनु चिन्ताजनक विषय भएको उल्लेख गर्दै यसको कारण पहिचान गरी समाधान खोज्न सरकार र नियामक निकायले पहल गर्नुपर्ने बताइन्।
उनले बैंकिङ क्षेत्रका श्रमिकहरूको हकहित संरक्षण, कार्य वातावरण सुधार तथा पेशागत तनाव न्यूनीकरणका लागि नेपाल राष्ट्र बैंक, सरकार र बैंकका सीईओहरूबीच यथाशीघ्र छलफल गरी ठोस समाधान निकाल्न आग्रह गरिन्।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T