काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गरिरहेको राष्ट्रिय आर्थिक गणना २०८२ मा सहभागी हुन नसकेका उद्योगी, व्यापार तथा सेवा क्षेत्रका प्रतिष्ठानलाई गणनामा समावेश हुन आग्रह गरेको छ ।
कार्यालयले एक अपिल जारी गर्दै देशको समग्र आर्थिक अवस्थाको यथार्थ चित्र प्रस्तुत गर्न सबै व्यवसायिक प्रतिष्ठानको सहभागिता आवश्यक रहेको जनाएको छ ।
कार्यालयका अनुसार आर्थिक गणनाका लागि वैशाख २ गतेदेखि असार ७ गतेसम्म देशव्यापी रूपमा तथ्याङ्क संकलनको कार्य सञ्चालन भइरहेको छ । कार्यालयले खटाएका ३ हजार ६ सय ६ जना गणक मार्फत १२ लाख १८ हजारभन्दा बढी प्रतिष्ठान बाट विवरण संकलन गरिसकेको जनाएको छ।
कार्यालयले केही उद्योग, व्यवसाय तथा सेवा प्रदायक संस्था गणनामा छुटेको हुन सक्ने उल्लेख गर्दै त्यस्ता प्रतिष्ठानलाई सम्बन्धित जिल्ला आर्थिक गणना कार्यालय वा राष्ट्रिय तथ्याङ्क कार्यालयको टोल–फ्री नम्बर ११७८ मा सम्पर्क गर्न अनुरोध गरेको छ।
कार्यालयका अनुसार आर्थिक गणना मुलुकको सम्पूर्ण आर्थिक गतिविधिको आधारभूत तथ्याङ्क संकलन गर्ने महत्वपूर्ण राष्ट्रिय अभियान हो । यसबाट देशभर सञ्चालनमा रहेका उद्योग, व्यापार, व्यवसाय, सेवा क्षेत्र, सहकारी, निजी तथा सार्वजनिक संस्थाको संख्या, प्रकृति, लगानी, रोजगारीको अवस्था, उत्पादन तथा सेवा प्रवाहलगायतका विवरण प्राप्त हुनेछन् ।
कार्यालयले प्राप्त तथ्याङ्कले मुलुकको आर्थिक संरचना र कुल गार्हस्थ्य उत्पादनको अनुमानलाई थप यथार्थपरक बनाउन सहयोग पुग्ने जनाएको छ । साथै, गणनाबाट प्राप्त तथ्याङ्क अल्पकालीन तथा दीर्घकालीन आर्थिक योजना, नीति निर्माण, लगानी प्रवर्द्धन, रोजगारी सिर्जना र सन्तुलित विकासका लागि उपयोगी हुने विश्वास व्यक्त गरेको छ।
अपिलमा उद्यमी, व्यवसायी तथा संघ–संस्थाको सक्रिय सहभागिताप्रति धन्यवाद व्यक्त गर्दै गणनामा उपलब्ध गराइएका सबै विवरण तथ्याङ्क ऐन, २०७९ अनुसार गोप्य राखिने जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्