Skip to content

जनता खुसी भएपछि मात्रै संस्थाप्रतिको विश्वास बढ्छः मन्त्री तिमिल्सिना

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले लोकतन्त्रमा जनता केन्द्रमा हुने भएकाले जनता खुसी हुनेगरी काम गर्नुपर्नेमा जोड दिए । जिल्ला हुलाक कार्यालयको आज निरीक्षणपछि उनले जनता खुसी भएपछि मात्रै संस्थाप्रतिको विश्वास बढ्ने बताए।

उनले भने, “जनता खुसी भए मात्र विश्वास बढ्छ, जनताको विश्वास बढेपछि मात्रै तपाईको कामको महत्त्व बढ्छ ।” उनका अनुसार संस्था बलियो भएन भने संस्थामा काम गर्नेको जागिर पनि सुरक्षित हुँदैन । “यो संस्थामा काम गर्ने हरेक कर्मचारीको हकहित सुरक्षित हुनुपर्छ”, उनले अगाडि थपे, “हामीले लोकतन्त्र भन्यौँ, तर संस्थालाई कमजोर बनायौँ, त्यसले गर्दा इतिहास मात्रै राम्रो भयो, वर्तमान बर्बाद भयो, यस्तै अनियमित गर्ने हो भने भविष्य कसरी सुरक्षित हुन्छ?”

कर्मचारीहरूलाई निर्देशन दिँदै मन्त्री तिमिल्सिनाले भने, “तपाई कसको लागि काम गर्दै हुनुहुन्छ भन्ने कुरा सोच्नुपर्छ ।” हुलाक इतिहास बोकेको संस्था भएको भन्दै उनले इतिहासअनुसार संस्थाको अवस्था नभएको बताए । विकसित देशमा हुलाकको अर्थ नसकिएको उल्लेख गर्दै उनले भने, “अझै हुलाक महत्त्वपूर्ण छ भन्ने कुरा विकसित देशमा देख्न सकिन्छ ।” कतिपय कुरा हुलाकबाटै पठाउँदा सुरक्षित हुने बताउँदै मन्त्री तिमिल्सिनाले हुलाक भनेर नाक खुम्याउने होइन कि हुलाकमा काम गर्छु भनेर गर्व गर्नुपर्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए।

चिठ्ठी पार्सल सुरक्षित रूपमा पुग्नुपर्नेमा जोड दिँदै मन्त्री तिमिल्सिनाले समयको महत्त्व बुझ्न आग्रह गरे। उनले भने, “सामान जेसुकै भए पनि सुरक्षित र समयमा पुग्नु पर्छ ।” तपाईंहरूले जागिर सुरु गर्दा र अहिले समयको महत्त्व बढ्दै गएको उल्लेख गर्दै उनले कुनै बेला कुनै काम १० दिनमा भए पनि मानिसले गुनासो गर्दैनथे, अहिले एकै दिन ढिलो हुँदा पनि गुनासो गर्छन् त्यसैले सबैले समयको गति बुझ्नुपर्छ भने ।

मन्त्री तिमिल्सिनाले सेवाग्राहीलाई हाँसेर सेवा दिन सुझाव दिँदै निवृत्त जीवनमा हुलाकको कर्मचारी थिएँ भनेर गर्व गर्ने अवस्था आउनुपर्ने बताए। उनले भने, “जताततै लथालिङ्ग, भ्रष्टाचारै भ्रष्टाचार, सेवाग्राही सन्तुष्ट छैनन्, अनि कुन अर्थमा सरकारले जनताको राजस्वबाट सेवा सुविधा बढाउन सक्छ ?”

जिल्ला हुलाक कार्यालय चितवनका प्रमुख शालिकराम बस्यालले कार्यालयका प्रगति र समस्याका बारेमा अवगत गराएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi