काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आईपीओ निष्कासन अनुमति प्राप्तिको पर्खाइमा हाल १०४ वटा कम्पनी रहेका छन् ।
यी कम्पनीहरूले कुल ६९ अर्ब ३० करोड ७७ लाख ४५ हजार १९६ रुपैयाँ बराबरको ४७ करोड २८ लाख ९४ हजार १६३ कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका छन् ।
आईपीओको लागि आवेदन दिने सबैभन्दा धेरै कम्पनी जलविद्युत् क्षेत्रका कम्पनी रहेका छन् । यसैगी, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन क्षेत्रका कम्पनीहरूको उल्लेख्य उपस्थिति रहेको देखिन्छ ।
उत्पादन तथा प्रशोधन समूह आईपीओ पाइपलाइनमा सबैभन्दा अगाडि देखिएको छ । यस समूहका ३० कम्पनीले ३५ अर्ब ३५ करोड २२ लाख ८८ हजार ६१० रुपैयाँ बराबरको १६ करोड ६४ लाख २५ हजार ८३ कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका छन् ।
कुल पाइपलाइन रकमको सबैभन्दा ठूलो हिस्सा यही क्षेत्रले ओगटेको छ । यस समूहअन्तर्गत सौर्य सिमेन्ट, जगदम्बा स्टिल, मारुती सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट, अम्बे स्टिल, हुलास इन्फ्रा तथा भगवती स्टिल इन्डस्ट्रिजले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न प्रस्ताव गरेका छन् ।

कम्पनी संख्याका आधारमा भने जलविद्युत् क्षेत्र अग्रस्थानमा रहेको छ । ३४ वटा जलविद्युत् कम्पनीले १७ अर्ब ५० करोड ३१ लाख ५ हजार ४३६ रुपैयाँ बराबरको १७ करोड १४ लाख ८३ हजार ७३६ कित्ता सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् ।

होटल तथा पर्यटन क्षेत्रका १८ कम्पनीले ६ अर्ब ४५ करोड १३ लाख ९३ हजार रुपैयाँ बराबरको ५ करोड ८२ लाख १३ हजार ९३० कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन् । यस समूहमा रहेको श्री एयरलाइन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा थप १०० रुपैयाँ प्रिमियम जोडेर २०० रुपैयाँमा आईपीओ निष्कासन गर्ने प्रस्ताव गरेको छ ।

लगानी उपसमूहका ५ कम्पनीले ३ अर्ब ४१ करोड ६० लाख ३७ हजार ५०० रुपैयाँ बराबरको २ करोड १४ लाख ३७५ कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका छन् । यस समूहअन्तर्गत शिव शंकर हाइड्रो इन्भेष्टमेन्ट कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा ११० रुपैयाँ प्रिमियम थपेर २१० रुपैयाँमा आईपीओ निष्कासन गर्ने प्रस्ताव गरेको छ ।

अन्य समूहअन्तर्गतका १४ कम्पनीले ५ अर्ब ९० करोड ९९ लाख २० हजार ६५० रुपैयाँ बराबरको ४ करोड ८६ लाख २१ हजार ६९ कित्ता सेयर निष्कासन गर्ने तयारी गरेका छन् । यस समूहमा कैलाश हेलिकप्टर सर्भिसले प्रतिकित्ता ३२७ रुपैयाँ, छायादेवी कम्प्लेक्सले ४०० रुपैयाँ तथा हुलास फिन्सर्स हायर पर्चेज कम्पनीले ३५८.८५ रुपैयाँ प्रिमियम मूल्यमा आईपीओ ल्याउने प्रस्ताव गरेका छन् ।
यस्तै, माइक्रो इन्स्योरेन्स क्षेत्रका ३ कम्पनीले ६७ करोड ५० लाख रुपैयाँ बराबरको ६७ लाख ५० हजार कित्ता सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् ।










प्रतिक्रिया दिनुहोस्