Skip to content

हुरीबतासको क्षतिः २० ट्रान्सफर्मरबाट विद्युत् सञ्चालन हुन बाँकी

nabil bank

दमौली । गत बिहीबार आएको हुरीबतासले खम्बा ढलेपछि तनहुँमा अझै २० ट्रान्सफर्मबाट विद्युत् सञ्चालन गर्न बाँकी छ । जिल्लाका विभिन्न ठाउँमा विद्युत्का खम्बा ढलेपछि २० ट्रान्सफर्मरबाट विद्युत् सञ्चालन हुन नसकेको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ ।

धेरै ठाउँमा खम्बा ढलेका र तार छिनेकाले मर्मतको काम जारी रहेको केन्द्र प्रमुख विजय रेग्मीले जानकारी दिए । उनले भने, ‘हुरीबतासले विद्युतीय संरचनामा ठूलो क्षति पुगेको छ, क्षति पुगेका ठाउँमा मर्मत गर्दै विद्युत् सञ्चालन गर्ने काम भइरहेको छ ।’

अझै पनि हावाहुरीको सम्भावना रहिरहेकाले रुख, हाँगा जस्तापाता उडाएर खम्बा तथा तारमा पर्ने र खम्बा ढल्ने, तार छिन्नेजस्ता घटना हुनसक्ने रेग्मीको भनाइ छ । उनले छोटोमा जोडिएका तार नछुटाएसम्म विद्युत् प्रसारण नहुने र लाइन छाडेमा करेन्ट लाग्ने सम्भावना भएकाले खबर नगरेसम्म प्राधिकरणलाई जानकारी नहुने बताए ।

उनले भने, ‘हामीलाई गल्ती खोजेर त्यस स्थानसम्म पुगेर मर्मत गरी बत्ती बाल्न धेरै समय लाग्छ, खम्बा ढलेका, तार छिनेका, बटारिएको, आगो बलेको देखेमा तुरुन्त प्राधिकरणलाई खबर गरिदिए तुरुन्त लाइन काट्ने, मर्मत गर्ने काम गर्न सकिन्छ ।’

हुरीबतासले तनहुँमा विद्युत्का ६० खम्बा भाँचिएका थिए । रेग्मीका अनुसार व्यास नगरपालिका–१० परेवाडाँडा नजिक तीन ११ मिटरका खम्बा ढलेका छन् । व्यास–७ शेरा कभर्ड हल नजिक ११ मिटरका दुई खम्बा ढलेका छन् । सोही वडाको छापथोक ट्रान्सफर्मरका दुई अम्बा ढलेर क्षति पुगेको रेग्मीले जानकारी दिए । व्यास–९ गजौडेमा हाइटेन्सन तार छिनेर क्षति पुगेको छ ।

तनहुँसुर फिडरअन्तर्गत व्यास–१२ घाँसीकुवामा ११ केभीका चार थान सिमेन्टका खम्बा ढलेर क्षति भएको छ । भानु नगरपालिका–५ पुरनडिहीमा एउटा विद्युत्का खम्बा ढलेर क्षति भएको रेग्मीले जानकारी दिए । व्यास–११ फराकचौरमा ११ केभीका दुई विद्युत्का खम्बा ढलेर क्षति भएको छ ।

त्यस्तै मुग्लिन फिडरअन्तर्गत आँबुखैरेनीको डम्पिङ साइटमा पाँच खम्बाका तार चुँडिएर क्षति भएको छ । आँबुगाउँमाथि दुई हाइटेन्सन तार तथा खम्बा ढलेर रुखमा अड्किएको छ ।

सत्रसय फिडरअन्तर्गत हिलेखर्क, ढेडगाउँ र फार्सीथैलीमा तीन हाइटेन्सन खम्बा ढलेका छन् भने नयाँगाउँ र पौवामा चार एलटी लाइनमा क्षति पुगेको वितरण केन्द्रले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi