काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब ७ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा १.७० प्रतिशतले बढेको हो ।
बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्म १ अर्ब ७ करोड ४५ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासमा बैंकले १ अर्ब ५ करोड ६५ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानीमा उल्लेख्य गिरावट आए पनि कर्जा नोक्सानी व्यवस्थाबापत छुट्याउनुपर्ने रकम घट्नु तथा शुल्क, कमिसन र अन्य सञ्चालन आम्दानीमा सुधार आउनुले नाफा बढाउन सहयोग गरेको देखिन्छ ।
समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ३२.४० प्रतिशतले बढेर १ अर्ब ८८ करोड ५३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब २६ करोड ४१ लाख ७ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा घटेर ४४ करोड ९९ लाख ५४ हजार रुपैयाँमा सीमित भएको छ ।
यससँगै इम्पेयरमेन्ट चार्ज ६४.४० प्रतिशतले घटेको छ । कर्जा नोक्सानी व्यवस्थाबापत छुट्याइएको रकममा आएको कमीले बैंकको सञ्चालन मुनाफा बढाउन महत्वपूर्ण भूमिका खेलेको हो ।
बैंकको आम्दानीको प्रमुख स्रोत मानिने खुद ब्याज आम्दानी भने २८.१९ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ९१ करोड २० लाख ५० हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आवको सोही अवधिमा घटेर २ अर्ब ९ करोड १२ लाख ८२ हजार रुपैयाँमा झरेको छ ।
यस अवधिमा बैंकको ब्याज आम्दानी ७ अर्ब ३३ करोड ६१ लाख रुपैयाँबाट घटेर ६ अर्ब १८ करोड ५९ लाख रुपैयाँ कायम भएको छ । यस्तै, ब्याज खर्च पनि ४ अर्ब ४२ करोड ४० लाख रुपैयाँबाट घटेर ४ अर्ब ९ करोड ४६ लाख रुपैयाँमा सीमित भएको छ ।
यता, खुद शुल्क तथा कमिसन आम्दानी भने ३.९० प्रतिशतले बढेर ८८ करोड २३ लाख ५५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ८४ करोड ९१ लाख ९६ हजार रुपैयाँ थियो । बैंकको खुद ट्रेडिङ आम्दानी २५ करोड ७१ लाख रुपैयाँ र अन्य सञ्चालन आम्दानी ४४ करोड ११ लाख रुपैयाँ रहेको छ ।
बैंकको व्यवसाय विस्तारमा पनि सकारात्मक वृद्धि देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तको तुलनामा चालु आवको पहिलो तीन महिनामा बैंकको ग्राहक निक्षेप ६.३६ प्रतिशतले बढेको छ । गत असार मसान्तमा ४ खर्ब २ अर्ब ७३ करोड ६२ लाख रुपैयाँ रहेको ग्राहक निक्षेप असोज मसान्तसम्म बढेर ४ खर्ब २८ अर्ब ३४ करोड १२ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, बैंकको कर्जा प्रवाह पनि ७.६८ प्रतिशतले वृद्धि भएको छ । गत असार मसान्तमा २ खर्ब ७२ अर्ब २० करोड २३ लाख रुपैयाँ रहेको कर्जा प्रवाह असोज मसान्तसम्म बढेर २ खर्ब ९३ अर्ब ९ करोड ६२ लाख रुपैयाँ पुगेको छ ।
यसैगरी, बैंकको कुल निष्क्रिय कर्जा अनुपात (एनपीएल) गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६.९८ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा बढेर ८.७२ प्रतिशत पुगेको छ । बैंकको खुद निष्क्रिय कर्जा अनुपात पनि १.५६ प्रतिशतबाट बढेर २.१७ प्रतिशत पुगेको छ ।
बजारमा ब्याजदर घट्ने क्रमसँगै बैंकको फन्ड लागत, आधार दर र स्प्रेड दरमा पनि कमी आएको छ । बैंकको निक्षेप लागत (कस्ट अफ फन्ड) ४.२९ प्रतिशतबाट घटेर ३.४३ प्रतिशतमा झरेको छ । त्यस्तै, आधार दर ५.८२ प्रतिशतबाट घटेर ४.८० प्रतिशत कायम भएको छ ।
बैंकको औसत ब्याजदर अन्तर (स्प्रेड दर) पनि गत आर्थिक वर्षको ३.५३ प्रतिशतबाट घटेर ३.०३ प्रतिशतमा सीमित भएको छ । समीक्षा अवधिमा बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७१.७१ प्रतिशत रहेको छ ।
नाफामा सामान्य वृद्धि भएसँगै बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १६ रुपैयाँ ११ पैसा रहेको ईपीएस चालु आवको सोही अवधिमा बढेर १६ रुपैयाँ ३९ पैसा पुगेको छ ।
बजारमा कुमारी बैंकको प्रतिसेयर मूल्य २३८ रुपैयाँ ४० पैसा रहँदा मूल्य आम्दानी अनुपात (पीई रेसियो) १४.५५ गुणा रहेको छ । बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ३१ पैसा, पुँजी पर्याप्तता अनुपात १२.६७ प्रतिशत र तरलता अनुपात ३५.४९ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा १४ करोड ७१ लाख रुपैयाँ रहेको छ ।









प्रतिक्रिया दिनुहोस्