काठमाडौं । सञ्चालनमा रहेका वाणिज्य बैंकले चालु आर्थिक वर्ष २०८३/०८४ मा १९ अर्ब १४ करोड ५४ लाख ७३ हजार रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिको तुलनमा ४५.५९ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकको नाफा १३ अर्ब १४ करोड ९८ लाख २३ हजार रुपैयाँ रहेको थियो ।
सञ्चालनमा रहेका २० बैंक मध्ये ३ वटा बैंकको नाफा घटेको छ भने बाँकी बैंकको नाफामा सुधार आएको छ । गत आवको पहिलो त्रैमासमा नाफा ऋणात्मक रहेको सिटिजन्स बैंकले अहिले १० करोड ७७ लाख ३ हजार रुपैयाँ नाफा कमाएको छ ।
यस्तै प्राइम बैंकको नाफा ५.६२ प्रतिशतले घटेर १ अर्ब १८ करोड ७६ लाख ५७ हजार रुपैयाँ रहेको छ । यस्तै स्टयान्डर्ड चार्टर्ड बैंकको नाफा २.९९ प्रतिशतले घटेर ६७ करोड १४ लाख ४४ हजार रुपैयाँ रहेको छ । हिमालयन बैंकको नाफा ६.८४ प्रतिशतले घटेर ६५ करोड ४८ लाख ३१ हजार रुपैयाँ रहेको छ ।
असोज मसान्तसम्म नाफा आर्जनमा नेपाल इन्भेष्टमेन्ट मेगा र कृषि विकास बैंकले छलाङ मारेका छन् । नेपाल इन्भेष्टमेन्ट मेगाको नाफा २५२२.४७ प्रतिशतले बढेको छ भने कृषि विकास बैंकको नाफा १८०३.७१ प्रतिशतले बढेको छ । नाफा आर्जनमा पहिलो स्थानमा नबिल बैंक रहेको छ । नबिलले नाफा ४५.४३ प्रतिशतले बढाएर २ अर्ब ५५ करोड ५१ लाख ५ हजार रुपैयाँ पुर्याएको छ ।
यस्तै ग्लोबल आइएमई बैंकको नाफा २४.४९ प्रतिशतले बढेर २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ रहेको छ । नाफामा नबिल र ग्लोबलको प्रतिस्पर्धा रहेको छ ।









प्रतिक्रिया दिनुहोस्