काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले विशेष साधारण सभा बोलाएको छ । कम्पनीले रोयल फर्मास्युटिकल्स प्रालिलाई प्राप्ति गर्नको लागि विशेष साधारण सभा बोलाएको हो ।
कम्पनीको साधारण सभामा सञ्चालक समितिले प्रस्तुत गर्ने प्रतिवेदन पारित गर्नुका साथै प्राप्ति प्रक्रियाका क्रममा हालसम्म भएका निर्णय, पत्राचार, नियामक निकायसँग भएका प्रक्रिया तथा अन्य आवश्यक कार्यहरूको अनुमोदन गरिने एजेन्डा रहेको छ।
त्यसैगरी, ड्यु डिलिजेन्स अडिट (डीडीए) प्रतिवेदन, सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन र स्वतन्त्र मूल्याङ्कनकर्ताको सिफारिसका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात स्वीकृत गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।
विशेष साधारण सभाले रोयल फर्मास्युटिकल्स प्रालि प्राप्तिसम्बन्धी अन्तिम समझदारीपत्र प्राप्ति योजना, व्यावसायिक योजना तथा अन्य आवश्यक कागजातहरू स्वीकृत गर्नेछ। साथै, स्वीकृत सेयर स्वाप अनुपातअनुसार रोयल फर्मास्युटिकल्सका सेयरधनीलाई ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर जारी तथा बाँडफाँट गर्ने प्रस्ताव पनि पारित गरिनेछ।
प्राप्ति प्रक्रियाका कारण कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी, सेयर संरचना, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्नुपर्ने भए सोसम्बन्धी प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ।
यसका साथै, कम्पनी ऐन, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से), सिडिएससी एण्ड क्लियरिङ लिमिटेड, कम्पनी रजिस्ट्रारको कार्यालय, उद्योग विभाग तथा अन्य नियामक निकायबाट प्राप्त हुने निर्देशन वा स्वीकृतिअनुसार आवश्यक संशोधन तथा कार्यान्वयन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ।
कम्पनीले विशेष साधारण सभा प्रयोजनका लागि असार २२ गते एक दिन सेयर दाखिला–खारेज बन्द (बुक क्लोज) गर्ने जनाएको छ। उक्त मितिसम्म नेप्सेमा कारोबार भई कम्पनीको सेयरधनी दर्ता पुस्तिकामा कायम रहेका सेयरधनीले मात्र सभामा सहभागी हुन सक्नेछन्।









प्रतिक्रिया दिनुहोस्