Skip to content
Prabhu

महासंघको पहलमा लगानी कम्पनी स्थापना हुने, अधिकृत पुँजी १० अर्ब

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पहलमा दशैभरका उद्यमी व्यवसायीको सहभागिता रहने गरी लगानी कम्पनी स्थापना हुने भएको छ । महासंघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै लगानी कम्पनी स्थापनाको तयारी भइरहेको जानकारी दिएको हो ।

उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवं व्यवसायीले लगानी गर्नसक्ने र कम्पनीमार्फत विभिन्न परियोजनामा लगानी गरिने जनाइएको छ । कम्पनीको अधिकृत पुँजी १० अर्ब रुपैयाँ हुनेछ । यसमा महासंघका सदस्यबाहेकका व्यवसायीले पनि लगानी गर्नसक्ने महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।

वीरगञ्ज उद्योग वाणिज्य संघको वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रबाट आवश्यक पहल गरिरहेको बताए । राजनीतिक दलको आर्थिक विषयमा समान एजेण्डा हुन नसक्दा समन्वय र सुधार नभएको बताउँदै अध्यक्ष ढकालले महासंघको आगामी चैत अन्तिम साता आयोजना हुने वार्षिक साधारणसभामा सबै दलहरुको ऐक्यबद्धता खोजिने पनि उनको भनाइ छ ।

महासंघले सुधारका लागि निरन्तर प्रयास गरिरहेको र गत असोजमा आयोजित बृहत् आर्थिक बहस यसको कोशेढुङ्गा सावित भएको ढकालको दाबी छ । उक्त आर्थिक बहस आयोजनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वपक्षीय भेला आयोजना गरेको स्मरण गराउँदै अध्यक्ष ढकालले त्यसपछि वित्तीय क्षेत्रमा सुधार भएको बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal