Skip to content

अर्थतन्त्र ३.५१ प्रतिशतले विस्तार हुने, विद्युत् र वित्तीय क्षेत्रले वृद्धि धान्ने

फाइल फोटो

काठमाडौं। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक राष्ट्रिय लेखा अनुमानअनुसार नेपालको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ।

आधारभूत मूल्यमा मापन गरिएको कुल गार्हस्थ्य उत्पादन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.५१ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ।

कार्यालयका अनुसार विद्युत् तथा ग्यास उत्पादन–वितरण, निक्षेप संकलन र ऋण प्रवाह, निर्जीवन बिमा, व्यापार सेवा तथा यातायात क्षेत्रमा भएको विस्तारले आर्थिक वृद्धिलाई मुख्य रूपमा टेवा दिएको हो। मौसमी प्रभाव समायोजनपछि दोस्रो त्रैमासिकको तुलनामा तेस्रो त्रैमासिकमा अर्थतन्त्र ०.५८ प्रतिशतले विस्तार भएको अनुमान गरिएको छ।

औद्योगिक वर्गीकरणअनुसार कुल १८ क्षेत्रमध्ये १६ क्षेत्रमा सकारात्मक वृद्धि देखिएको छ। सबैभन्दा उच्च वृद्धि विद्युत् तथा ग्यास क्षेत्रमा २४.८८ प्रतिशत रहेको छ। त्यसपछि वित्तीय तथा बिमा क्षेत्रमा १०.२७ प्रतिशत, यातायात तथा भण्डारण क्षेत्रमा ७.८३ प्रतिशत तथा थोक तथा खुद्रा व्यापार क्षेत्रमा ५.२५ प्रतिशतको वृद्धि भएको अनुमान गरिएको छ।

अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान रहेको कृषि क्षेत्रको वृद्धिदर १.५८ प्रतिशत रहने अनुमान छ। धान उत्पादनमा कमी आए पनि पशुपन्छी, तरकारी, फलफूल तथा वनपैदावारको उत्पादनमा भएको वृद्धिले कृषि क्षेत्रलाई सकारात्मक बनाएको कार्यालयको भनाइ छ। यस्तै, व्यापारजन्य वस्तुको आयात र स्वदेशी उत्पादन बढेकाले थोक तथा खुद्रा व्यापार क्षेत्रको विस्तार भएको उल्लेख गरिएको छ।

यद्यपि निर्माण सामग्रीको आयातमा आएको कमी, धान उत्पादनमा गिरावट तथा केही औद्योगिक वस्तुको उत्पादन घटेका कारण समग्र आर्थिक वृद्धि अपेक्षाकृत मध्यम रहेको कार्यालयले जनाएको छ। सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा १.५९ प्रतिशत र औद्योगिक उत्पादन क्षेत्रमा ०.५४ प्रतिशतको ऋणात्मक वृद्धि भएको प्रारम्भिक अनुमान गरिएको छ।

मौसमी प्रभाव समायोजित तथ्याङ्कअनुसार दोस्रो त्रैमासिकको तुलनामा तेस्रो त्रैमासिकमा १८ मध्ये ११ औद्योगिक क्षेत्रमा वृद्धि भएको छ भने सात क्षेत्रमा संकुचन देखिएको छ। यस अवधिमा विद्युत् तथा ग्यास क्षेत्रमा ६.८७ प्रतिशत, खानी तथा उत्खनन क्षेत्रमा २.२३ प्रतिशत तथा थोक तथा खुद्रा व्यापार क्षेत्रमा २.०२ प्रतिशत वृद्धि भएको छ। कृषि, वन तथा मत्स्य क्षेत्रमा ०.०४ प्रतिशत, आवास तथा भोजन क्षेत्रमा २.३० प्रतिशत र औद्योगिक उत्पादन क्षेत्रमा ०.८३ प्रतिशतले संकुचन भएको अनुमान गरिएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०६७/६८ लाई आधार वर्ष मानेर त्रैमासिक राष्ट्रिय लेखा अनुमान तयार गर्दै आएको छ। कार्यालयले प्रत्येक त्रैमास समाप्त भएको ९० दिनभित्र प्रारम्भिक अनुमान सार्वजनिक गर्ने अभ्यासअनुसार यसपटकको प्रतिवेदन पनि सार्वजनिक गरेको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi