Skip to content

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले यही असार १ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रदेशसभामा टेबल गरिएको छ । आज बसेको बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले बजेट टेबल गरेका हुन ।

सभामुख भीमबहादुर भण्डारीले बैठक सुरु हुनासाथ समय दिएपछि आर्थिक मामिलामन्त्री धामीले ‘अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक’ र प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सभासमक्ष टेबुल गरेका छन् ।

बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले महालेखापरीक्षकको आठौँ वार्षिक प्रतिवेदन २०८३, थारू आयोग, मुस्लिम आयोग र मधेसी आयोगका सातौँ वार्षिक प्रतिवेदन सभामा पेस गरे ।

गत असार १ गते आव २०८३÷८४ को बजेट प्रस्तुत भएपछि आज बसेको बैठकमा बजेट टेबल भएपछि अब बाँकी प्रक्रिया अगाडि बढ्ने छन् । प्रदेश सरकारले आगामी आवका लागि रु ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार विनियोजन गरेको छ ।

बजेटको खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट रु एक अर्ब ७२ करोड, नेपाल सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम रु १० अर्ब २४ करोड ९२ लाख ६६ हजार रहेको छ ।

यस्तै, सङ्घीय रोयल्टी बाँडफाँटबापत प्राप्त हुने रु सात करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु नौ अर्ब छ करोड ३३ लाख, आव २०८२÷८३ को विनियोजनबाट बचत हुने रु नौ अर्ब ६५ करोड, सशर्त अनुदानबाट प्राप्त हुने रु छ अर्ब तीन करोड ५८ लाख, सङ्घीय समपूरक अनुदानबाट प्राप्त हुने रु ३८ करोड ८० लाख र विशेष अनुदानबाट रु ५२ करोड ७६ लाख प्राप्त हुने अनुमान रहेको छ ।

उक्त बजेट प्रस्तुत भएपछि सत्तासाझेदार दलहरूबीच नै मतभेद भएपछि २२ दिनपछि बाँकी प्रक्रिया अगाडि बढेको हो । अब अर्को बैठकमा बजेटसम्बन्धी छलफल अगाडि बढ्नेछ ।

प्रदेशसभाको अर्को बैठक सूचना जारी नभएसम्मका लागि स्थगित भएको सभामुख भण्डारीले सभालाई जानकारी गराए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi