काठमाडौं । गृहमन्त्री सुदन गुरुङले सरकार जनताको सेवा गर्न प्रतिबद्ध रहेको बताउँदै आफू स्टन्टबाजी गर्न नभई देशको सेवा गर्न आएको बताएका छन्। उनले नेपाल एमालेका सांसद ऐनबहादुर महरले संसद्मा व्यक्त गरेका भनाइलाई लक्षित गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्।
गणेश नेपालीको उपचार तथा उद्धार प्रयासबारे बोल्दै गृहमन्त्री गुरुङले सरकारले उनलाई बचाउन हरसम्भव प्रयास गरेको दाबी गरे। उनका अनुसार आवश्यक परे भारत लैजाने तयारीसमेत गरिएको थियो।
“हामी गणेश नेपालीलाई बचाउनका लागि सबै लागिपरेका थियौँ। भारत लैजानका लागि पनि सबै तयारी गरिएको थियो। भारतीय दूतावाससँग समन्वय भएको थियो र म स्वयं राति विमानस्थलसम्म पुगेको थिएँ। तर चिकित्सकका अनुसार उहाँलाई बचाउन सक्ने सम्भावना अत्यन्त न्यून भइसकेको थियो,” उनले भने।
ट्राफिक प्रहरीले सवारीसाधनमा ‘ह्वील लक’ लगाएको भन्ने आरोपको पनि उनले खण्डन गरे। उनका अनुसार उक्त कारबाही ट्राफिक प्रहरीले नभई नगर प्रहरीले गरेको हो।
“ह्वील लक ट्राफिक प्रहरीले लगाएको होइन, नगर प्रहरीले लगाएको हो। सम्बन्धित स्थानीय सरकार राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा छैन। अहिले कार्यान्वयन भइरहेका नियम–कानुन अघिल्ला सरकारले बनाएका हुन्। हामीले तिनै कानुनको कार्यान्वयन गरेका हौँ,” उनले स्पष्ट पारे।
गृहमन्त्री गुरुङले सरकार कानुन र विधिअनुसार सञ्चालन हुने उल्लेख गर्दै राजनीतिक आरोप–प्रत्यारोपभन्दा तथ्यका आधारमा बहस गर्नुपर्ने बताए।
उनले आफ्नै पार्टीका केही नेताले सार्वजनिक रूपमा एउटा र निजी रूपमा अर्को धारणा राख्ने प्रवृत्ति देखिएको भन्दै त्यसप्रति असन्तुष्टि पनि व्यक्त गरे। “अगाडि एउटा र पछाडि अर्कै रूप देखाउने प्रवृत्तिले समस्या सिर्जना गर्छ। म देशको सेवा गर्न आएको हो, स्टन्टबाजी गर्न होइन,” उनले भने।
प्रतिक्रिया दिनुहोस्