Skip to content

सेयर बजार सुधारका काम अघि बढिरहेका छन्, अफवाह फैलाउनेलाई कारवाही गरिन्छ: अर्थमन्त्रीको सचिवालय

' विज्ञ मन्त्री छन्, क्लब हाउस, ह्वाट्सएप ग्रुप, म्यासेन्जर ग्रुप वा टाई-सुट लगाएका झिल्के संघका नेताका पछि नलाग्नु'

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले सेयर बजारमा फैलाइएका अफवाह र भ्रामक प्रचारप्रति सचेत रहन लगानीकर्तालाई आग्रह गरेको छ ।

मन्त्रीको सचिवालयले सरकार सेयर बजार सुधारका लागि योजनाबद्ध रूपमा काम गरिरहेको दाबी गरेको छ ।

सरकार गठनयता सेयर बजारमा आएको गिरावटका कारण लगानीकर्तामा असन्तुष्टि र आक्रोश देखिएको विषयमा सरकार जानकार रहेको दाबी गरिएको छ ।

सम्पत्तिको मूल्य घटेको देखिनु र बजार अझै ओरालो लाग्ने भन्ने हल्लाले लगानीकर्तामा चिन्ता उत्पन्न हुनु स्वाभाविक भए पनि तथ्यभन्दा बाहिरका प्रचार गरिएको सचिवालयको दाबी छ ।

सचिवालयका अनुसार नियमित आम्दानी हुने करदातालाई आयकरमा छुटको व्यवस्था गरिएको, राजस्व विवादमा परेका हजारौँ करदातालाई ऐतिहासिक छुट सुविधामार्फत पुनः व्यवसाय सञ्चालनको अवसर प्रदान गरिएको तथा स्थिर सरकार, विज्ञ अर्थमन्त्री र पारदर्शी तथा इमानदार नेतृत्व भएका नियामक निकायमार्फत आर्थिक सुधारका कार्यक्रम अघि बढाइएको छ ।

सचिवालयले धितोपत्र बजार सुधारका लागि नियामक निकायहरूले योजनाबद्ध रूपमा काम गरिरहेको र बजारमा अनियमितता तथा चलखेल गर्ने समूहहरूमाथि अनुसन्धानसमेत अघि बढाइएको जनाएको छ । केही व्यक्तिले नियामक निकायलाई प्रभावमा पारेर विगतमा भारतमा भएको हर्षद मेहता प्रकरणजस्तै अवस्था सिर्जना गर्ने प्रयास गरेको दाबी गर्दै त्यस्ता गतिविधिमाथि अनुसन्धान भइरहेको उल्लेख गरिएको छ।

यद्यपि, सरकारले बजारका सम्बन्धमा तथ्यहीन सूचना र अफवाह फैलाएर असामान्य अवस्था सिर्जना गर्ने प्रयास भइरहेको दाबी गरेको छ। कम बोल्ने र बढी काम गर्ने सरकारको कार्यशैलीको फाइदा उठाउँदै केही समूहले आफ्नो स्वार्थका लागि भ्रामक प्रचार गरिरहेको सचिवालयको भनाइ छ।

सचिवालयले ‘फलानो व्यक्ति पक्राउ पर्दैछ’, ‘फलानोमाथि अनुसन्धान हुँदैछ’ जस्ता नामै तोकेर फैलाइने हल्ला प्रायोजित हुन सक्ने भन्दै त्यस्ता सूचनाबाट प्रभावित नहुन लगानीकर्तालाई आग्रह गरेको छ। सरकारले कानुनी प्रक्रिया र प्रमाणका आधारमा मात्र काम गर्ने स्पष्ट गर्दै त्रास सिर्जना गर्ने उद्देश्यले फैलाइएका हल्लाको पछि नलाग्न आग्रह गरिएको छ।

त्यसैगरी, सेयर बजारसम्बन्धी आधिकारिक जानकारी क्लबहाउस, ह्वाट्सएप वा म्यासेन्जर समूह तथा अनधिकृत व्यक्तिहरूबाट नभई सम्बन्धित सरकारी निकायबाट मात्र लिनुपर्नेमा सचिवालयले जोड दिएको छ। सामाजिक सञ्जाल र अनौपचारिक माध्यमबाट फैलाइने सूचनाले लगानीकर्तालाई भ्रमित पार्ने र केही समूहले त्यसबाट व्यक्तिगत लाभ लिन खोज्न सक्ने चेतावनी पनि दिइएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi