काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०८२/०८३ मा भारत तथा बङ्गलादेशमा विद्युत् निर्यात गरेर २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ६७.९६ प्रतिशतले धेरै हो ।
आव २०८१/०८२ मा २ अर्ब ३८ करोड २९ लाख युनिट विद्युत् निर्यात गरी १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ आम्दानी भएको थियो। गत आवमा ३ अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट निर्यात गरेको छ ।
भारतीय खुला बजार तथा बङ्गलादेशसँगको त्रिपक्षीय व्यापारमार्फत ७.५६ रुपैयाँ प्रति युनिटका दरले बिजुली बिक्री गरेको हो ।
यस्तै बाह्य स्रोतबाट हुने विद्युत् आयात उल्लेख्य रूपमा घटेको छ। आर्थिक वर्ष २०८१/०८२ मा १ अर्ब ६८ करोड ४ लाख युनिट विद्युत् आयात गर्दा १२ अर्ब ९२ करोड ३० लाख रुपैयाँ बाहिरिएको थियो । गत आव २०८२/०८३ मा आयात परिमाण ३१.५७ प्रतिशतले घटेर १ अर्ब १४ करोड ९८ लाख युनिटमा सीमित भएको छ । गत आवमा विद्यत १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँको आयात भएको छ ।
आव २०८२/०८३ मा २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँको निर्यात आम्दानीबाट १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँको कुल आयात खर्च कटाउँदा नेपालले विद्युत् व्यापारबाट मात्रै कुल १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ बचत भएको थियो ।
अघिल्लो आव २०८१/०८२ मा यस्तो बचत ४ अर्ब ५३ करोड ५७ लाख रुपैयाँ मात्र रहेकोमा गत आवमा यो बचत ३१३ प्रतिशत (करिब चार गुणाभन्दा बढी) ले वृद्धि भएको छ।









प्रतिक्रिया दिनुहोस्